नखाेलिएकाे सामाजिक प्रकाेप : घरेलु हिंसा र मानसिक समस्या

-- सुजित सिग्देल, आवरण डिसेम्बर २०१९ / प्रकाशित मिति : आइतवार, पुस ६, २०७६

 

अंग्रेजीमा “When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile.” भन्ने एउटामीठो भनाइ छ यसको अर्थ ’ जीवनले तिमीलाई रुने सय कारणहरू देखायो भने तिमीले जीवनमा मुस्कुराउने हजार कारणहरू देखाऊ । यसै गरि भागबद गीताको दोश्रो अध्यायको ६३ औं श्लोक क्रोधाद्भवति संमोहः संमोहात् स्मृतिविभ्रमः । स्मृतिभ्रंशाद् बुद्धिनाशः बुद्धिनाशात् प्रणश्यति ।। हजारौं शब्दमा बर्णन गर्न मिल्ने यसको छोटकरीको अर्थ “कुनै पनि बिषय वा बस्तुमा धेरै चिन्तन गर्दै गर्दा त्यसले एक किसीमको आशक्ति पैदा गर्दछ । उक्त आशक्तिले कामना र कामनाले क्रोध । क्रोधले सम्मोह, सम्मोहले हामीलाई भ्रष्ट बनाउँछ, जसले अन्ततः बुद्दि नाश गर्छ र मानिस पतनतिर उन्मुख हुन्छ ।” यसरी चिन्तन हँुदै आशक्तिले पतनतिर उन्मुख मानिसले धेरै कुराहरू गलत गर्दै जान्छ । सारमा जीवन जति सरल सँग बाँच्यो त्यति राम्रो, कुनै पनि कुराको आसक्ति, अबैध सम्बन्ध आदि कारणले अन्ततः परिणाम अप्रिय हुन्छ । त्यसैले त भनिन्छ हाम्रो जीवन अमूल्य छ । यो अमूल्य जीवनमा शृष्टि कै सक्षम प्राणी बनेर ग्रह, उपग्रह र सौर्य मण्डलसम्म चाहर्न सक्षम हामी मानिस संग जीबन जिउने हजार होइन लाखौ वा करडौ कारणहरू छन् ।

हजारौं, लाखौं अनि करोडौं जीवन जिउने कारणहरू हुदाँ हुदै पनि एक या दुई कारण र त्यस्तै खाले परिस्थितिले मानिसमा आउने मनाशिक वा शारीरिक बिचलन त्यसले निम्त्याएका विविध घरेलु हिंसा र मानसिक समस्या अनि त्यसले दिने मर्नेदेखि मार्नेसम्मका अप्रिय नतिजा । बिगतका केहि हप्ताहरूमा सिड्नी मेलबर्नमा घटेका घटनाहरूले अष्ट्रेलियाको हाम्रो नेपाली समुदायलाई निक्कै दुखित बनायो । हुन पनि देखिएको या सुनिएको भन्दा जव घटना सतहमा आउँछ बास्तबिकता फरक हुन्छ । क्षणिक आवेग, बिगतमा परिवार भित्र घटेका अप्रिय घटनालाई समय मै सम्बोधन गर्न नसक्दाको परिणाम हुन् यी जसको बास्तबिकता धेरै मानेमा यथार्थता भन्दा फरक भए पनि अन्त्यमा चुकचुकाउने बाहेक हामी धेरै ढिलो भइ सकेका हुन्छौं ।

घरेलु हिंसा र मानसिक समस्या यति बेला अष्ट्रेलियाको नेपाली समुदायमा ठूलो समस्याको रुपमा देखिएको छ । यिनै समस्याले उत्पन्न हुने असहज स्थिति अनि क्षणिक आवेगका कारण आफैलाई चोट दिने (सेल्फ हार्म) र अन्यलाई चोट दिदाँ घाउ चोटपटक हुँदै हत्यादेखि आत्महत्यासम्मको स्थितिमा पुगेको देखिन्छ । यस्तो स्थितिमा किन पुग्छ भन्ने प्रश्नको उतर पक्कै पनि निक्कै जटिल छ, त्यहि जटिलता अध्ययन गर्दै मानिसले आफुलाई त्यो स्थितिसम्म पुग्न दिनु अगावै सरकारी या निजि विविध सेवा र काउन्सिलिङ्गहरू लिएर त्यस्ता समस्याहरूमा न्यूनीकारण आएको यहाँको तथ्यांकले बताउँछ ।

हामी नेपालीहरू को सबालमा भने यो कुरा अलिकति फरक देखिन्छ जस्तो कि हामी सकेसम्म घरेलु हिंसाका घटना, विविध कारणले उत्पन्न मानशिक समस्याको पहिचान र उपचारभन्दा पनि तिनीहरू लाई लुकाउन तिर लाग्छौं । आफू भित्रको यो समस्या लुकाएर आफू ठिक–ठाक नै भएको देखाउन खोज्छौं । जसले गर्दा समस्या बढ्दै गएर उपचारको लागि पुग्दासम्म निक्कै ढिलो भइ सकेको हुन्छ । त्यसैले पनि घरेलु हिंसा, मानसिक समस्या या मानसिक रोग र यसले निम्त्याउने दुष्परिणामका बारेमा कुरा गर्दै गर्दा हामी अष्ट्रेलियामा रहेका नेपालीहरू को हकमा अलिक फरक दृष्टिकोण बनाउनु जरुरी छ ।

यसका लागि सहयोगको धेरै संघ संस्था र व्यक्ति बिशेषले बिभिन्न किसिमले सहयोग गर्दै आइरहेका छन् त्यसमा अझ ब्यापकता गर्दै घरेलु हिंसा परिवार भित्रको झगडा हो भनेर मात्र नबुझी सक्दो छिटो सहयोगी हात बढाउन सके अपेक्षाकृत राम्रो नतिजा निस्कन सक्नेछ । परदेशको बसाइमा एक्लोपन र मनमा बिभिन्न कुराहरू खेलेका हुन्छन्, परिवारका अन्य सदस्य टाढा छन्, संगै बस्ने लोग्ने या स्वास्नी संगै पिडित हुनु परेको अवस्था छ, मन मिल्ने कोहि संग आफ्ना मनका कुरा खोल्न पाउन सहज छैन । यस्तै एक दुई कारण बढ्दै बढ्दै अन्त्यमा मानसिक समस्या, अनि त्यही मानसिक तनाब नै आक्रमण र आत्महत्याको कारण बनिदिन्छ । त्यसैले मानसिक तनाव हुन नदिन आफ्नो मनको कुरा अरु संग पोख्ने वातावरण बनाउनु एकदमै जरुरि छ । शारीरिक आक्रमण या आत्महत्या समस्याको समाधान हँुदै होइन, आत्महत्या, आफूलाई वा अरुलाई हानि गर्ने नकारात्मक कुरा दिमागमा नल्याउनको लागि आफूलाई सकारात्मक सोच सहितको प्रेरणादायी वातावरणमा अभ्यस्त गराउन सके यी नकारात्मक कुराहरू दिमागमा समेत आउँदैनन् ।

हुन त मानसिक समस्या या डिप्रेसनका धरै कारणहरू छन् त्यस मध्येको घरेलु हिंसा एउटा कारण हो भनेर भन्न बिज्ञ हुनु पर्दैन अर्कोतिर मानसिक समस्या या डिप्रेसन जसलाई पनि हुन सक्छ । त्यसैले यसको उचित व्यवस्थापन र उपचार पनि व्यक्ति बिशेषमा फरक हुने नै भयो । जसका लागि बिज्ञको सुझाबको एकदमै जरुरि छ । तै पनि माथि भने जस्तै अष्ट्रेलियाको हकमा हेर्दा यहाँ आउने धेरै भन्दा धेरै नेपालीहरू युबा अवस्थाका छन्, उनीहरू उच्च शिक्षा र उज्जवल भविष्यको चाहना राखेर आएका छन् । विद्यार्थी बाहेक यहाँ आएका केहि नेपालीहरू आफ्नो पेशामा सिधै नेपालबाट नै स्थाई बसोबासको अनुमति लिएर पनि आउने गर्छन् । यी दुवै खालका नेपालीहरू ले यहाँको जीवन जिरोबाट नै सुरु गर्नु पर्ने हुन्छ । जुन पक्कै पनि सहज छैन, यस्तै सुरुका दिनमा आउने असहज परिस्थितिमा आइपर्ने समस्या संग जुध्न नसक्नु र कहिले काँही हामीले नेपालबाट नै ल्याएको पितृशतात्मक सोचका उपज हुन मानसिक बिचलन र यसबाट आउने अन्य अप्रिय परिणामहरू । अष्ट्रेलियाको सरकारको तथ्यांक अनुसार प्रत्येक वर्ष २ हजार ७ सय ९५ जनाले आत्महत्या गर्ने गर्दछन भने सन् २०१६ मा यो संख्या २ हजार ८ सय ६६ थियो । मानसिक रोग यहाँ मृत्युको कारक रोगमध्ये १३ औं नम्बरमा आउने तथ्यांकमा उपलब्ध छ । यहाँको केन्द्र र राज्यसरकारले मानसिक रोग भएकाहरूलाई उपचारका लागि बिभिन्न गोप्य परामर्श, उपचारहरू समेत उपलब्ध गराउने गरेको छ । यद्यपि मानसिक रोग अपेक्षित रुपमा नियन्त्रणमा आउन सकेको छैन् । अष्ट्रेलियामा रहेर मानसिक रोग बिशेषज्ञका रुपमा काम गरिरहेकाहरूका अनुसार आफुहरू संगको उपचारको शिलशिलाको भेटघाट या अनौपचारिक भेटघाटको आधारमा नेपालीहरूमा पछिल्लो समयमा मानसिक रोग बढ्दै गएको बताउँछन् । अष्ट्रेलियामा राष्ट्रिय तथ्यांक हेर्ने हो भने प्रत्येक ५ नागरिकमा एक जना मानसिक समस्याले पिडित छ त्यो नेपालीको लागि पनि लागु हुने उनीहरूको अनुभब छ । त्यसको मतलब नेपाली समुदायका सदस्यहरू मा पनि प्रत्येक ५ नेपालीमा एक व्यक्तिमा कुनै न कुनै मानसिक समस्या रहेको उनीहरूको दाबी छ । बिशेष गरेर आफूमा समस्या भएपनि स्वीकार गर्न अप्ठ्यारो मान्ने र उपलब्ध सेवाहरू समेत समय मै नलिने प्रवृतिका कारण नेपालीहरू मा मानसिक रोगको समस्या दिन प्रतिदिन बढ्दै गएको यस्ता बिशेषज्ञकाहरू को भनाई छ ।

लामो समयदेखि अष्ट्रेलियामा मानसिक रोग बिशेषज्ञको रुपमा कार्यरत डा. घनश्याम चापागार्इँ अहिले पनि आफूले दर्जनौ नेपालीहरूलाई मानसिक स्वास्थ्य सेवा दिइरहेको सुनाउँछन् । उनका अनुसार उपचारका लागि आउने अधिकांश बिरामीहरूले शुरुको समयमा भन्दा पनि रोग बढिसके पछि मात्र आउने गरेकाले समस्या थपिने गरेको छ । एकातिर मानसिक रोगको उपचारका लागि नेपाली बिशेषज्ञ भेट्न नचाहने प्रवृति र अर्काेतिर मानसिक रोग भएपनि यसलाई कमजोरीका रुपमा लिने र स्वीकार नगर्ने चलन नेपालीहरू मा भएको उनको अनुभव छ । डा. चापागाईका अनुसार मानसिक समस्या १८ वर्ष माथिका जुनसुकै लिङमा पनि हुने कुनैपनि किसिमको यातना घरेलु हिंसा हो । सामान्यतया महिलामा मात्र घरेलु हिंसा हुन्छ भन्ने सोच बदलिनु जरुरी छ । अष्ट्रेलियामा रहेर कुरा गर्नु पर्दा पुरुषसगै बौवाहिक संवन्धमा रहेको अर्को पुरुष पनि धेरै संख्यामा घरेलु हिंसाको सिकार वनेको तथ्यांकले देखाउँछ । डा. चापागाईं ले घरेलु हिंसा र मानसिक समस्यावाट पिडित जुन सुकै  लिङ वा उमेर समुहकाहरु ले समयमै उचित परामर्श लिनु एकदमै जरुरी रहेको वताउछन् ।

बिगत १० वर्षदेखि अष्ट्रेलियामा घरेलु हिंसा, मानसिक रोग र दुव्र्यसनीबाट पिडितहरूको लागि सहयोग गर्ने संस्थाहरू मा काम गरिरहेकी प्रतिज्ञा अधिकारी भिन्न उमेर र लैंगिक समूहमा दिनहुँ बढ्दै गरेका यस्ता समस्याले सबैलाई जस्तै आफुलाई पनि निक्कै चिन्तित बनाएको बताउँछिन् । घरेलु हिंसा, सुत्केरी बेलामा हुने मानशिक तनाब र युबा वर्गमा देखिएको लागु औषधको प्रयोग त्यसले निम्त्याउने मानसिक समस्याको बढ्दो पिडितहरू को संख्या हाम्रो सुमुदायमा रहेको उनको अनुभब छ । आफ्ना समस्या अरुलाई भन्न नसक्ने वा कसरि कहाँ भन्दा ठीक हुने हो या होइन सो सम्बन्धी ज्ञान नहुने कारण पनि यो समस्या लुकाएर राख्ने प्रबृती बढ्दो छ, नतिजा स्वरुप अप्रिय घटनाहरू बृदी हुँदैछन् । अधिकारी अगाडि भन्छिन् नब आगन्तुकहरूका आफ्नो नजिकको परिवार पनि आफूसंग नहुने भएकाले मानसिक रोगले अझ समस्या सृजना गरेको हो । घरेलु हिंसाको चपेटामा परिसकेकी महिला या पुरुष आफै मलाई यस्तो पर्यो भनेर उपचार खोज्न असमर्थ भइ सकेका हुन् सक्छन् । त्यसैले त्यो स्थितिमा निजका व्यक्ति वा पारिबारिक सदस्यहरूले यो त उसको व्यक्तिगत या पारिबारिक समस्या हो भनेर छोड्न नहुने उनको सुझाब छ । अर्को तिर पिडितले पनि आफुलाई परेको यो समस्या बाहिर ल्याउने, हेल्पलाईन पुलिस आदिमा कल गर्ने, आफ्नो डाक्टर (जि.पि) समक्ष यो समस्या तत्कालै बताउने गर्दा यसले एकै छिन् सम्बन्धमा नमिठो आए पनि समाधान उन्मुख हुने या परिमाण सुखद रहने पनि अधिकारीले बताइन् ।

सानोदेखि ठूलो घाउ चोटपटक, रोग बिराम जे हुदाँ पनि अष्ट्रेलियामा जाने पहिलो ठाउँ जी पी फ्यामिली डाक्टर हो जसलाई यहाँ  General particenor (जीपी) भन्ने गरिन्छ । नेपाली समुदायमा बिगत १० वर्षदेखि धेरैलाई सेवा पुर्याउँदै आएका जी पी डा. प्रविन पाठकको अनुभब पनि उस्तै छ । आफूकहाँ आउने नेपालीहरू मा घरेलु हिंसा र मानसिक रोगिका बिरामीहरू को संख्या ह्वात्तै बढेको उनी बताउँछन् । संख्या बढेसंगै यस्ता समस्याहरू लिएर आउने व्यक्तिहरू धेरै नै बढेका छन् त भन्ने हाम्रो प्रश्नमा भने उनको फरक उत्तर छ । डा. पाठकका अनुसार नेपाली समुदायका सदस्यहरू यस्ता समस्या सहज तरिकाले राख्न निकै हिच्किचाउँछन् । डाक्टरले नै केहि लक्षण देखियो, घाउ चोट पटक देखियो, आलस्यता टाउको दुख्ने आदि समस्या बताएमा कतै यस्तो पनि हुन सक्छ कतै तपाईं लाई यस्ता कुनै समस्या त छैनन् भनेर आफुले नै सोध्ने उनले बताए । आफै स्वःस्फूर्त रुपमा यस्ता समस्या राख्ने पिडितहरू ५ प्रतिशत पनि नरहेको उनको अनुभब छ । यस्ता कुराहरू पारिबारिक सम्बन्धका इस्सु पनि संगै जोडिएर आउने कारण बताउन अफ्ठ्यारो लागेको जस्तो देखिन्छ तैपनि डा. पाठक नेपाली समुदायका सदस्यहरू लाई यस्ता समस्याहरू आफुलाई वा आफ्नो फ्यामिली डाक्टरलाई निर्धक्क भन्न पनि अनुरोध गर्छन् । उनका अनुसार फ्यामिली डाक्टरलाई बताइएका यस्ता कुराहरू मा प्राइभेसी ( गोप्यता) रहने र जी पी ले मेडिकल्ली मात्रै होइन भावनात्मक अन्य आवश्यक सुझाब र काउन्सिलिङको लागि कहाँ के गर्ने कसरी गर्ने भन्ने कुरामा सहजताको भूमिका पनि खेल्न सक्छन् । अन्य रोग जस्तै डिप्रेसन या मानसिक रोग पनि एउटा समस्या हो त्यसको उपचार हुन्छ र जति ढिलो गर्यो उति जटिलता थपिदै जान्छ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पनि उनले बताए ।

फेरि पनि घरेलु हिंसा र डिप्रेसनको परिणामले हुने हत्यादेखि आत्महत्या क्षणिक आवेगको प्रतिफल मात्रै होइन यो त मानसिक स्वस्थ स्थिति कै उपज हो । मानसिक स्वस्थ र डिप्रेसनका सयौं कारणहरू हुन सक्छन् यसका लागि अत्यावश्यक आधार भनेको मानसिक स्वास्थ्य, समस्या र सेवाबारे जनचेतना तथा उपलब्ध निजि, सरकारी र गैर सरकारी सुविधाको सहजताका साथ उपयोग नै हो । स्वास्थ्यसेवा प्रणाली अन्तर्गत जति पनि अरु स्वास्थ्य समस्याको जनचेतना बढाउने कार्यक्रम छन् त्यो भन्दा महत्वको साथ र धेरै मात्रामा मानसिक स्वास्थ्य सम्बन्धी सहयोगी क्रियाशील संघ संस्था छन् हाम्रो समुदायमा कार्यरत संघ संस्थाहरू ले तिनीहरू संग सहकार्य गर्न सके अझ परिणाममुखी बन्न सक्नेछ । जसले गर्दा परिवार र आफु वरपरकालाई यस्ता समस्याको छनक देखिनासाथ सहयोग र सहि मार्ग निर्दिष्ट गर्न सकियोस् । यहाँ रहेका समुदायका सदस्यहरू र स्वयं युबा विद्यार्थीहरू नै यसमा सचेत र जागरुक बनिदिने हो भने मानसिक समस्याको रोकथाम, उपचार र पुनस्थापना जस्ता बिभिन्न तहको काउन्सिलिङहरू सहज बन्नपुग्दछन् ।

अन्त्यमा, हामीहरू सुबिधा सम्पन्न देशमा छौं यहाँ रहदा घरेलु हिंसा र मानसिक स्वास्थ्य र समस्या बारे यथार्थ जानकारी र कम्तिमा समस्या देखिए आफुले के के गर्ने वा अरुलाई कसरि सहयोग गर्ने भन्ने ज्ञान सबैमा हुन जरुरि छ । जुन सुकै लिङ्गबाट होस् घरेलु हिंसा शून्य सहनसिलाता (जिरो टोलारेंस ) हुन जरुरि छ । अष्ट्रेलियाको हकमा आफूले कुनै कुरा शेयर गर्ने साथी परिवार सदस्य बाहेक पहिलो बिन्दु भनेको सुरुमा चेकअप गर्ने डाक्टर (जि.पि) हुन् । यसैले आफु घरेलु हिंसाले पिडित वा मानसिक समस्याको लक्षणको शंका वा छनक मात्र भएमा पनि डाक्टर संग भनेमा अबिलम्ब सेवाको सोधी खोजी गरि उपलव्ध सेवा सुविधा बारे जानकारी प्राप्त गरि लाभान्वित हुन सकिन्छ । यस्ता सबै सेवा सुबिधा लिंदैगर्दा प्रत्येकको व्यक्तिगत बिबरण गोप्य राख्ने यहाँको नियम पनि हो । त्यसैले बिज्ञहरू संग बिना हिचकिचावट यस्ता समस्यामा परामर्श लिआंै । अहिले आफूलाई नचाहिए पनि कुनै पनि बेला कसैलाई पनि यस्ता किसिमको सेवाहरू को जरुरत पर्नसक्छ । त्यसैले, यो मलाई चाहिने कुरा होइन भन्ने नसोचौं । मानसिक समस्या र घरेलु हिंसा जस्ता कुरामा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरौं ।