राजविराजमा आजदेखि निषेधाज्ञा जारी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सप्तारी – स्थानीय प्रशासनले सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा आज बिहीबार बिहान ५ बजेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार साझ बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि राजविराज नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमित एक बृद्धको मृत्यु भएपछि उनको परिवारको सम्पर्कमा गएकाहरुबाट समुदायमा संक्रमण फैलिएको थियो ।

समुदायमा संक्रमण फैलिएपछि बुधबारबाटै राजविराज नगरपालिकाले नगर क्षेत्र भित्र पूर्ण लकडाउनको आह्वान गरेको थियो । संक्रमणलाई थप फैलिन नदिन प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी निषेधाज्ञा पत्रमा अत्यावश्यक सेवाहरु बाहेक अनावश्यक आवतजावत र हिँड्डुल गर्न बिहीबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

आदेश उल्लंघन गर्नेलाई कानून बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

निषेधाज्ञा अवधिमा राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु औषधि पसल, खाद्यन्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्न तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानी यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण कार्य, पेट्रोलियम पदार्थको ढुवानी तथा भण्डारण र वितरण, फोहोर मैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा कृषि पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन सहितका अत्यावश्यक सेवा बाहेक अन्य सेवा र स्थलहरुमा अनावश्यक आवतजावत र हिँड्डुल गर्न रोक लगाएको हो ।

ती अत्यावश्यक क्षेत्रहरु अन्तर्गतको कार्य गर्दा पनि तोकिए बमोजिमको स्वास्थ्य सर्तकता सम्बन्धी मापदण्डको पूर्ण पालना नगरे प्रचलित कानून बमोजिम कारबाही हुने समेत निषेधाज्ञा पत्रमा उल्लेख छ ।