जोनी डीपविरुद्ध एम्बरको बयान

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ १८, २०७७

हलिउड अभिनेता जोनी डीपकी पूर्व पत्नी एम्बर हर्डले आफूलाई जोनीले लागूऔषध र रक्सी पिएका बेला शारीरिक र मौखिक रुपले दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी छिन् । यद्यपि ’पाइरेट्स अफ क्यारेबियन’ अभिनेता डीपले उनको आरोप झुटो रहेको कुरा अदालतमा राख्दै आएका छन् । हालै हर्डले अदालतमा आफूलाई पूर्व पति डीपले मार्ने धम्की दिएको बयान दिएकी छिन् । उनले अदालतमा पेस गरेको बयानमा डीपले आफूलाई सम्बन्धमा रहँदै मार्ने धम्की समेत दिएको कुरा उल्लेख गरेकी हुन् । ’द सन’ पत्रिकालाई डीपले मुद्दा लगाएपछि अदालतले एम्बरको बयान लिएको हो । सन् २०१८ मा ’वाइफ बिटर’ (पत्नी पिट्ने) समाचार लेखेको भन्दै डीपले उक्त पत्रिकाविरुद्ध अदालतमा मुद्दा लड्दै छन् । डीपको अभियोग मुद्दामा सोधपुछ गर्ने क्रममा डीपले आफूमाथि फोनको झटारो हानेको कुरा पनि एम्बरले अदालतलाई बताएकी छन् । अदालतले डीप र हर्डको बयान लिएको छ । फिल्म ’द रम डायरी’को सुटिङका क्रममा सन् २००९ मा उनीहरु नजिक भएका थिए । सन् २०१५ मा उनीहरुले बिहे गरे । बिहे गरेको १५ महिनापछि एम्बरले अदालतमा डिभोर्सको फाइल केस गरेकी थिइन् । सन् २०१७ मा डिभोर्स फाइनल भएको थियो ।