स्कूल र कलेजमा फिल्मको औपचारिक अध्यापनको तयारी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

आम दर्शकमाझ नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेको छ । समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामी बर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गर्नेछ । आगामी बर्षदेखि विद्यालय तहबाटै फिल्म बारे औपचारिक अध्ययन गर्न पाईने विकास बोर्डको जनाएको छ । निमावी तहदेखि कलेज र सबै क्याम्पसहरुमा फिल्म वारे शिक्षा शुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने विकास बोर्डको अनुमान छ । यसले फिल्मको संस्कर बढ्ने तथा फिल्मको इतिहास जिवित रहनेछ, प्रत्यक्ष अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्नेछन् । अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागेको हो । शुरुमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ । ‘यसले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ’, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए । विकास बोर्डका अनुसार स्कुल तहदेखि नै फिल्मको ईतिहास, साहित्यिक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । उनका अनुसार ढिलोचाँडो यसको शुरुवात हुँदैछ । यो चलचित्र विकास बोर्डको लागि मात्र हैन, आमनेपालीहरुको लागि सुखद् पक्ष पनि हो । फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा पर्यटन प्रवद्र्धनको लागि पनि यो आवश्यक रहेको बोर्डले जनाएको छ ।