अभिनेत्री सिवोकाटीको आग्रह

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, भदौ २८, २०७७

अभिनेत्री वर्षा सिवाकोटीले कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेको अहिलेको अवस्थामा सामाजिक सञ्जालमार्फत एउटा अनुरोध गरेकी छिन् । आफुनो फेसबुकमा सानो अनुरोध भन्दै उनले एउटा स्टाटस लेखेकी छिन् । आफ्नो स्टाटसमा उनले लेखेकी छिन्— ‘संसार भर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ । यो माहामारि नेपालमा पनि १–२ को संख्याबाट आज सयौं र हजारौंको संख्यामा दिनानुदिन बढिरहेको छ । क्वारेन्टिन, हस्पिटलका वार्डहरुमा संक्रमितहरु थपिँदै गैरहेका छन् । यस समयमा आफु र आफ्नाहरुलाई सुरक्षित राख्नु पर्ने त छँदैछ, साथै स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सहि मूल्यांकन गर्न पनि उत्तिकै जरुरी छ ।’ अभिनेत्री वर्षा लेख्छिन् –‘यस्तो जटिल परिस्थितिमा एक–अर्का का लागि सहयोग, माया र सद्भाव राख्न अत्यन्त आवश्यक छ । केहि घटनाहरुमा संक्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ सङक्रमितको स्याहारमा लाग्नु हुने डाक्टर र नर्सहरुमा पनि सङक्रमण देखिएपछि उहााहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ती पक्कै पनि अशोभनीय छ ।’ अभिनेत्री सिवाकोटीको अनुरोध छ—‘हालको यस जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनि खटिनु हुनेलाई सम्मान गरौं । आफ्नो समुदायमा कोहि संक्रमित हुनुहुन्छ भने उहााहरुको विषेश ख्याल राख्ने गरौं । मानवताकै नाताले भएपनि अहिलेको अवस्थामा एक–अर्कालाई साथ दिउँ र सहयोग गरौं ।’