नेजाको पाँचौ अधिवेशन लसएन्जलसमा उद्घाटन

-- / प्रकाशित मिति : आइतवार, बैशाख २६, २०७३

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौ अधिवेशन तथा दसौँ वार्षिक साधारण सभाको आज अमेरिकाको लसएन्जलसस्थित हिमालयन काउजिनमा उद्घाटन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा महेन्द्र विष्टले आज साँझ एक कार्यक्रमबीच अधिवेसनको उद्घाटन गरेका हुन । नेपालमा पत्रकारिता गरेर विभिन्न किसिमले अमेरिकालाई कर्मथलो बनाएका पत्रकारहरुको सस्था नेजाको यही शनिवार र आइतबार अर्थात् मेको ७ र ८ तारिखमा लसएञ्जलसमा सम्पन्न हुने अधिवेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । कार्यसमितिको अध्यक्षका लागि भोला आचार्य, गुणराज लुईटेल र तारा बरालले उम्मेदवारी घोषणा गरेका छन । कार्यसमितिको निर्वाचनका लागि वरिष्ठ पत्रकार तरुण पौडेलको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरिएको छ । कार्यसमितिको चयन भोलि मात्र हुनेछ ।

अधिवेसनमा भाग लिन विभिन्न राज्यबाट नेजाका सदस्यहरू, प्रतिनिधि तथा शुभेच्छुकहरु लस एञ्जलस पुगेका छन् । यस पटकको अधिवेशनमा मेरील्याण्ड, भर्जिनिया, टेक्सस, कोलोराडो, क्यालिफोर्निया, न्युयोर्क, नर्थक्यारोलिना, ओक्लोहामालगायत सत्र भन्दा बढी राज्यबाट सहभागिता रहेको छ । नेजाको पाँचौ अधिवेशन तथा दशौ वार्षिक साधारण सभाको सफलताको लागि प्रधानमन्त्री केपी शर्मा अाेलीले शुभकामना व्यक्त गर्नुभएको छ ।
कुल १ सय ४८ सदस्यमध्ये ११ जना आजीवन सदस्य र १ सय ३७ जना साधारण सदस्यहरूले यस अधिवेशनमा भाग लिनेछन । सन् २००७ मा गठित नेजाले अमेरिका र नेपालको बिचमा पत्रकारिताको माध्यमबाट कुटनीतिक सम्बन्धलाई बलियो बनाउदै आएको छ । अतिथिकै रूपमा वाणिज्यदुत ऋषि ढकालसहित अमेरिकामा रहेका छाता सङ्गठनहरू गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय सदस्य दिल श्रेष्ठ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष डिल्ली भट्टराई, एएनएका वरिष्ठ उपाध्यक्ष शम्भु ढुंगाना, नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, आदिवासी जनजाति महासंघका अध्यक्ष लुईसाङ्ग वाईवा, लगायत सहभागी भएका छन् ।

यसैबिच दाहालले। यसैबिच यही अधिवेशनमा नेजा ग्रामीण उत्कृष्ठ पत्रकारिता पुरस्कार विजेताको समेत घोषणा गरिने भएको छ । सोही पुरस्कारको राशि एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ । नेपालमा मोफसलमा बसेर उत्कृष्ठ काम गर्ने एक जना पत्रकारलाई हरेक दुई वर्षमा यो पुरस्कार दिइन्छ ।
सन् २०१४ मा ह्युष्टनमा सम्पन्न चौथो अधिवेशनले गौतम दाहालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको थियो । यसअघि गिरीश पोख्रेल, आडछिरिड शेर्पालगायत अध्यक्ष भैसकेका छन ।