आज देवकोटा जयन्ती मनाइँदै

काठमाडौं– नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो ।
दश वर्षका उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो ।
यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउनुभयो ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवत्र्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।
उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ ।
भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ ।
नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीन पटक जन्मेको बताउनुभएको थियो ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।
महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यास जस्ता १५ गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्धसङ्ग्रह’ प्रकाशन गर्नुभएको थियो ।
विसं २०१६ मा उहाँ शिक्षा तथा स्वायत्त शासनमन्त्री हुनुहुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु भएको थियो ।
वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन हो ।
तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने क्षमता थियो ।
आशुकवि देवकोटाको कविप्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ ।
चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिक सक्रियताका बीच पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उहाँको साहित्यिक विशेषता हो ।
महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गर्नुभयो । उहाँले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गर्नुभएको छ ।
विसं २०२४ मा प्रकाशित ‘मायाविनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...