यस्ती छिन् प्रभावशाली महिलाको सूचीमा पर्न सफल नेपाली चेली सपना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बीबीसीको प्रभावशाली महिलाको सूचीमा परे लगत्तै चर्चामा छिन् ।

बीबीसीले मंगलबार सार्वजनिक गरेको सन् २०२० मा विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा नेपालबाट सपनालाई समावेश गरेको छ ।

उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोभिड–१९ विरुद्धको खोपको नेतृत्व गरिरहेकी सारा गिल्बर्ट समेत छन् ।

सपनाले यो अवधिमा दर्जनौं बेवारिसे लास जलाइसकेकी छिन् ।

विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जिवन केन्द्रमार्फत सपनाले लकडाउनको क्रममा धेरै काम गरेकी छिन् ।

सपनाको परिवार खेती–किसानीमा आधारित छ ।

उनको परिवार धान, कोदो मकैको खेती गर्ने र त्यसैका आधारमा जीवन चलाउने परिवार हो ।

सामान्य परिवारमा कान्छी छोरीको रुपमा उनको जन्म भयो, त्यसेले उनले अभाव महसुस गर्नु परेन ।

उनी विद्यालयमा राम्रो विद्यार्थी थिइन् ।

सबैले राम्रो पढ्ने विद्यार्थी भनेर प्रशंसा गर्दा उनी कुनै अवस्थामा उत्ताउली पनि भइन् ।

आफैंले आफैंलाई बिग्रेकी थिएँ पनि भनिन् ।

एसएलसी सकेर उच्च शिक्षाका लागि बेनी आएपछि उनको जीवन कुबाटोमा लागेको उनी आफैं स्विकार्छिन् ।

उनले भिडमा रमाउँदा–रमाउँदै एक्लिएको पत्तै पाइनन्  ।

त्यो समयमा राम्रो सोच्दासोच्दै पनि, अरूका लागि राम्रो गर्दागर्दै पनि उनी दलदलमा फसेको महसुस गरिन् । उनी सडककै जीवन बिताउने भइसकेकी थिइन् ।

त्यो क्रममा उनले आमा, बुबा र आफन्तलाई दिन सम्म दु:ख दिइन् ।

समाजलाई पनि दु:ख दिइन् ।

तर, त्यस्तो बेला पनि उनका आमाबुबाले उनलाई माया गरिरहे ।

उनले जति सताउँदा पनि उनका बाबुआमाले दिएको साथका कारण उनी आजको अवस्थामा आउन सकेकी हुन् ।

प्रेम र विश्वास नै सबैभन्दा ठूलो शक्ति र प्रभाव हो भन्ने कुरा आफ्नो जीवनबाट प्रमाणित भएको सपनाको बुझाइ छ ।

उनको संघर्षको कथा उनी सडकमा पुगेपछि नै प्रारम्भ भएको हो ।

उनी आफ्नै जीवनसंग संघर्ष गरिरहेकी थिइन् ।

त्यसक्रममा बाँचेर केही नहुने रहेछ भनेर डोरी लिएर धेरैपटक आत्महत्याको कोसिस पनि गरेकी थिइन् ।

तर, त्यही बेला आफैंले रोजेर स्विकार्ने मृत्यु त हार हो, जित्नु नै जीवन हो भन्ने भावना पनि उनको मनमा आइरह्यो ।

त्यही क्रममा परिवारबाट पाएको साथ र मायाबाट उनले बाँच्ने कोशिस गरिन् ।

त्यसपछि उनी आफू मात्र बाँचिनन्, समाजका लागि बाँच्छु भन्ने भावनाले अघि बढ्ने निर्णय गरिन् ।

सबैका साथ र हौसलाले उनी आजको स्थानसम्म आइपुगिन् ।

त्यसपछि उनी जोडिइन्े एक्सन फर सोसियल चेन्ज र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र ।

जिउँदा मान्छेका लागि समाजसेवा गर्ने धेरै छन्, तर सडकमै प्राण त्यागेर बेबारिस बनेका लाशको व्यवस्थापनमा कोही पनि अघि नबढेको बेला यो संस्थाले त्यस्ता लाशहरु व्यवस्थापन गर्ने जिम्मा लिएको हो, जसमा सपना आवद्ध भइन् ।

आफूले कर्म बुवा मानेका विनयजंग बस्नेतको प्रेरणा र सहयोगले सपनाले नयाँ बाटो समातेकी हुन् ।

बस्नेतकै प्रेरणाले उनले पनि बेवारिसे लास जलाउन, दागबत्ती दिन थालेकी हुन् ।

विपत्तिले एक्लिएकाहरूको पनि अन्त्येष्टिको अधिकार हुन्छ भन्ने मान्यता राख्ने सपनालाई त्यही कुराले दागबत्ती दिने र घाटसंगको सम्बन्ध स्थापित गराएको बताउँछिन् ।

यो कर्म गर्न पाएकोमा उनी आफैंलाई भाग्यमानी मान्छिन् ।

हरेक समय बेवारिसे शवलाई दागबत्ती दिन पाइरहनुलाई समेत उनी आफू भाग्यमानी भएको मान्छिन् ।

सपनालाई यो क्रममा कतिले होच्याएका छन्, निरुत्साहित पनि पार्न खोजेका छन् ।

यद्यपि, उनी तिनीहरुबाट समेत केही सिक्न पाएको अनुभव गरेकी छिन् ।

उनलाई समाजका मान्छेहरुले के भन्छन् भन्ने कुरामा धेरै सोच्ने फुर्सद नै छैन ।