पश्चिम नेपालमा पनि बढ्दैछन् कोरोना सङ्क्रमित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

महेन्द्रनगर– भारतमा दोस्रोपटक कोरोना महामारीका रूपमा फैलिइरहेका बेला त्यसको असर सुदूरपश्चिम प्रदेशमा सिमानासित जोडिएका जिल्लामा पर्न थालेको छ ।

केही समयअघि कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि रोजगारीका लागि भारत गए सुदूरपश्चिमेलीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि यहाँ कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको छ ।

भारतसित ओहरदोहर गर्ने सुदूरपश्चिमको मुख्यद्वार कञ्चनपुरको गड्डाचौकी र पूर्वी गौरीफन्टा नाकामा दैनिक कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।

यहाँ सुनसान रहेको कोरोना अस्पताल सङ्क्रमितले भरिन थालेका छन् भने बन्द गरिएको आइसोलेशन शय्या स्थानीय प्रशासन र सरोकारवाला निकायले पुनःसञ्चालनको तयारी गरिरहेका छन् ।

कञ्चनपुरको महाकाली अस्पतालस्थित कोरोना अस्पताल सङ्क्रमित बिरामीले भरिएका छन् ।

अस्पतालमा अहिले ५३ कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

‘कोरोना अस्पतालको क्षमता ५० शय्याको भए पनि अहिले बढी बिरामी राखेर उपचार गर्नुपरेको छ’, महाकाली अस्पताल कोभिड–१९ का सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले भन्नुभयो- ‘सङ्क्रमित थपिँदै जाँदा व्यवस्थापनमा थप जटिला थपिएका छन् ।’

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार यहाँको गड्डाचौकी नाकामा हरेक दिन १० देखि १५ जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।

महाकाली अस्पतालले कोरोना सङ्क्रमणका जटिल लक्षण देखिएका बिरामीलाई सघन उपचारका लागि धनगढी पठाउने गरेको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले यहाँस्थित ‘आइसिएच’ भवनमा आइसोलेशन बनाउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले उक्त भवनमा १०० शय्या राखेर उपचार गर्ने गरी आइसोलेशन कक्ष बनाउने काम भइरहेको बताउनुभयो ।

बितेको एक महिनामा महाकाली अस्पतालमा १०७ सङ्क्रमित भर्ना भएका थिए ।

जसमध्ये केही वडाध्यक्षको सिफारिसमा होम आइसोलेशनमा छन् भने कोही निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।

नयाँ वर्षको अवसरमा यहाँका नाकाबाट स्वदेश फर्किने क्रम पनि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जनाकारी दिनुभयो ।

प्रहरीका अनुसार बितेको एक महिनामा गड्डाचौकी र गौरीफन्टा नाकाबाट झण्डै ४० हजार नागरिक स्वदेश फर्किएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चैत महिनादेखि सीमानाकामा स्वास्थ्यकर्मी खटिएर ‘एन्टिजेन’ परीक्षण थालिएको हो ।

केही समययता सङ्क्रमण बढ्न थालेपछि महाकाली अस्पतालमा पनि कोरोना परीक्षण गराउनेहरुको सङ्ख्या बढिरहेको छ । सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य दशकौँदेखि भारत हो ।

गत वर्ष कोरोना सङ्क्रमण बढेपछि डेढ लाखभन्दा बढी यहाँका नागरिक भारतबाट रोजगारी छाडेर घर फर्किएको तथ्याङ्क छ ।

खुला सिमानाका कारण बन्दाबन्दीका बेला लुकीछिपी स्वदेश फर्किने क्रम पनि चल्यो ।

गौरीफन्टा नाकामा कोरोना परीक्षणमा खटिएका पुर्नबास नगरपालिकाका स्वास्थ्य शाखाका अहेव गणेश साउदले आज बिहान नाकामा ३०० को कोरोना परीक्षण गरिएकामा ३३ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

‘दैनिक एक हजारदेखि एक हजार ५०० सम्म नागरिक यस नाकाबाट घर फर्किँदैछन्’, उहाँले भन्नुभयो-‘सबैको कोरोना परीक्षण गर्न सम्भव भइरहेको छैन ।’

उहाँले परीक्षण दायरा बढाउन सरकारले थप कदम चाल्नुपर्ने आवश्यता रहेको उहाँको भनाइ छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले भारतबाट फर्किनेमा कोरोनाको सङ्क्रमण देखिएको बताउनु भयो ।

‘स्थानीयवासी सङ्क्रमणभन्दा पनि भारतबाट आउनेमा बढी देखिएको छ’, उहाँले भन्नुभयो-‘धनगढी र महेन्द्रनगरका कोरोना अस्पताल सङ्क्रमितले भरिएका छन् ।’

अस्पतालको आइसोलेशन शय्या भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहहरुले पुनः आइसोलेशन बनाएर सङ्क्रमितको व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको छ भन्नुभयो ।