सामाजिक दुरीमा कडाइ, मास्क बिना सार्वजनिक सवारी चढ्न नपाइने

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सरकारले काठमाडौं उपत्यकासहित देशैभरमा बढ्दै गएको दोस्रो चरणको कोरोना भाइरसको महामारीप्रति ध्यान दिँदै सोमबार मन्त्रिपरिषद्को बैठकले विभिन्न विषयमा निर्णयहरु गरेको छ ।

जस अन्तर्गत सार्वजनिक यातायातका साधनमा चालक, सह–चालक र यात्रु सबैले अनिवार्यरुपमा मास्कको प्रयोग गनुपर्ने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनुभयो ।

मास्क नलगाएको यात्रुलाई पनि कम्तिमा १० रुपैयाँ लिई सवारी चालकले मास्क उपलब्ध गराउनुपर्ने गुरुङले जानकारी दिनुभयो ।

यसैगरि, सार्वजनिक यातायातको साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, बीचैमा यात्रु चढाउन नपाउने र सवारी साधनमा अनिवार्यरुपमा स्यानिटाइजरको प्रयोग गनुपर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको उहाँले बताउनुभयो ।

यसका साथै कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले होटल तथा रेष्टुराँ बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ ।

सञ्चारमन्त्री गुरुङले तोकिएको समयभन्दा बाहेक होटल तथा रेष्टुरेन्टले होम डेलिभरी भने गर्न सक्ने जानकारी दिनुभयो ।

यस्तै राजमार्ग क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टले जनस्वास्थ्यका मापदण्डको पालना गर्नु पर्नेछ ।

यसका साथै सरकारले विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विवाह, ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गुरुङले जानकारी दिनु भएको छ ।

मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताउनु भयो ।