अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलाउने नेपाल सरकारको निर्णय

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको २ मे मा बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । यहि ओली नेतृत्वको तत्कालिन नेकपाको सरकारको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०१९ को नोभेम्बरमा राजदूतमा नियुक्त गरेकी थिइन् । पछि उनलाई न्यूजिल्याण्ड, फिजी र पपुवान्यूगिनीको समेत गैरआवासीय राजदूतको जिम्मेवारी थपिएको थियो ।
यस बिषयमा जिज्ञासा राख्दा नेपाल सरकारबाट आफुलाई फिर्ता बोलाउने जनाकारी आफुले प्राप्त गरेको राजदुत दाहालले जानकारी दिए । नेपाल सरकारको सिफारिस मै आफु सरकारको प्रतिनिधिको रुपमा यहाँ आएको र अहिले सरकारले नै आफुलाई फेरि बोलाएकोमा यसलाई आफुले सामान्य रुपमा लिएको पनि दाहालले बताए । देशको प्रतिनिधिको रुपमा आफुले आफ्नो कर्तब्य निभाएको र यहाँ सबै सहयोग पाएकोमा प्रसन्नता व्यक्त गर्दै भविष्यमा फेरि देशले दिने कुनै पनि जिम्मेवारी पुरा गर्न आफु अडिग रहने बताए ।
राजनीतिक नियुक्ति पाएर आउने दाहाल अष्ट्रेलियाका लागि चौथो राजदुत हुन् ।  यस अगाडिकी राजदुत लक्की शेर्पा पनि आफ्नो कार्यकाल पुरा नहुदै नेपाल फर्किएकी थिईन् ।