दुई सातामा विदेशमा थप ४१ जना नेपालीको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण गत दुई सातामा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना, कतारमा ८ जना, फ्रान्समा १ जना, माल्दिम्समा १ जना, बेल्जियममा १ र पोर्चुगलमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय २३ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार हाल सम्म विदेशमा ५४ देशमा १ लाख ७ हजार ८६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९९ हजार २ सय ५७ जना नेपाली कोरोना मुक्त भएका छन् ।

समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार सोमवार साँझसम्म विदेशमा कोरोना संक्रमणबाट ९२ प्रतिशत नेपाली मुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

संघले डा.संजिव सापकोटाको संयोजकत्वमा डा.सागर पौडेल (भारत), डा. नितेश शर्मा (मध्यपूर्व), डा. बोधराज सुवेदी (युरोप), डा.रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरु परिचालन गरेको छ ।

यसैबीच नेपालमा हालसम्म ५ लाख २० हजार ४ सय ६१ जना संक्रमित पुगेकोमा ७६ दशमलव ६ प्रतिशत अर्थात ३ लाख ९८ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणका कारण सोमवार साझसम्म ६ हजार ५ सय ३१ जनाको निधन भएको छ ।