नेसनल अमेरिकन मिसको राष्ट्रियस्तरमा नेपाली मूलकी जेसिका लम्साल

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार ७, २०७८

काठमाडौं– नेसनल अमेरिकन मिस (न्याम) को आइतबार सम्पन्न टेक्सासको प्रतिस्पर्धाबाट पछिल्लो चार वर्षदेखि अमेरिकामा बसोबास गरिरहेकी नेपाली मुलकी जेसिका लम्साल राष्ट्रिय स्तरका लागि छनौट भएकी छिन् ।

जेसिका लम्साल नोभेम्बर २१ देखि २७ मा हलिउड क्यालिफोर्नियामा एक हप्तासम्म हुने राष्ट्रियस्तरको प्रतियोगितामा छनौट भएकी हुन् ।

यो स्तरको प्रतियोगितामा छनौट हुने जेसिका लम्साल सम्भवत: पहिलो नेपाली मुलकी छोरी भएको बताइन्छ ।

संसारकै ठूलो मानिएको ब्यूटि प्याजेन्ट गर्ने नेसनल अमेरिकन मिसले अमेरिकाको सबै ठूला शहरबाट छानेर स्टेटबाट जित्ने बढीमा एउटा स्टेटबाट तीन जना र कम्तिमा एक जना छानेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि लैजाने गर्दछ ।

जेसिकाले यो अवसरसंगै प्रतियोगितामा महत्वपूर्ण मानिएका विभिन्न चार वटा अवार्ड पनि जितेकी छिन् ।

टेक्सासको ह्युस्टनमा तीन दिनसम्म चलेको टेक्सास राज्य स्तरिय उक्त प्याजेन्टमा आयबार साँझ भएको फाईनलमा जेसिकाले मोष्ट रेकमन्डेसन अवार्ड र स्पोर्ट लाईट अवार्ड जितेकी छिन् भने हर्ट अफ द सर्भिस र स्पोक्स मोडलमा फस्ट रनर्सअप भएकी छिन् ।

जेसिकाले फाईनलमा सहभागी हुन पाउनु आफ्नो जीवनकै ठुलो उपलब्धि भएको बताएकी छिन् ।

जेसिकाले अबको प्रतिस्पर्धामा सहभागी भएर हरेक स्टेजमा ‘म नेपाली मुलकी छोरी हुँ’ भनेर बताउने तयारी गरेकी छिन् ।

जेसिका भन्छिन्– ‘यो मलाई एउटा ठुलो अवसर हो भने मभन्दा पछिका नेपाली बहिनीहरुका लागि प्रेरणाको प्रस्थान बिन्दु हो ।’

आगामी दिनमा यो प्रतियोगितामा आउन चाहनेहरुलाई आफूले अमेरिकाको ५० वटा स्टेटबाट सिफारिस गर्न पाउने जेसिकाले बताईन् ।

‘यो झट्ट हेर्दा सुन्दरी प्रतियागिता जस्तो मात्रै लाग्न सक्छ, तर त्यसो होईन’ जेसिका भन्छिन्–‘कुनै पनि व्यक्तिको व्यक्तित्व विकास गर्नका लागि चाहिने सबै कुराहरु जस्तै नेतृत्व विकास, पव्लिक स्पिकिड, कसरी आफ्ना जीवनका उदेश्यहरुलाई मूर्त रुप दिने र संसारको पछिल्लो सूचना र प्रविधिको अवस्था तथा कसरी एउटा सफल व्यक्ति हुन के के चाहिन्छ र कसरी सर्भाईभ हुन सकिन्छ भन्ने जस्ता विषयमा तीन दिन सम्म विभिन्न १२ वटा विधामा २४ जना जजहरुबाट जज गराईन्छ ।’

जेसिकाले अमेरिका जस्तो देशमा यसरी अगाडि आउन पाउनु आफ्नो लागि निकै ठूलो अवसर भएको बताउँछिन् ।

सन् २०१७ को नोभेम्बरमा अमेरिका पुगेकी जेसिका कक्षा नौबाट अमेरिकामा अध्ययन गर्न थालेकी हुन् ।

उनी यसअघि पनि लगातर दुई पटक टेक्सासबाट स्टेट फाईनलिष्टमा पुगेकी थिईन् ।

जेसिका पत्रकार होम लम्सालकी छोरी हुन् ।