आज साउने सङ्क्रान्ति

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ ।

माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ ।

अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनु भयो ।

एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् ।

परम्पराअनुसार काग भलायो, कुकर डाइनो, लुते झार, पानी अमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो ।

साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।

साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ ।

यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ ।

यस वर्ष कोरोना भाइरसको नयाँ भेरियन्टसहितको सङ्क्रमणका कारण आफन्तकहाँ जान सहज छैन ।

यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् ।

सवारी खुलेकाले जानै परेमा स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गर्दै पर्व मनाउनुपर्नेमा जोड दिइएको छ ।