एमालेमा नौ वटा विभाग गठन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, साउन १९, २०७८

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीमा नौ वटा विभाग गठन गरेको छ ।

सोमबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टीमा विभिन्न नौ वटा विभाग गठन गर्ने निर्णय गरेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहको सहभागिताबिना नै बसेको बैठकले विभाग गठन गर्ने निर्णय गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले गठन भएका विभागमा केही सदस्यहरू पनि चयन गरिएको बताउनुभयो ।

ज्ञवालीका अनुसार पार्टीको स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

उक्त विभागअन्तर्गत ११ जना सदस्य छन् ।

यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिइएको छ ।

संगठन विभागमा १४ जना सदस्य चयन गरिएको छ ।

१४ जना सदस्य नै चयन भएको संसदीय विभागमा सुवास चन्द्र नेम्वाङले प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

यसैगरी, आर्थिक विभागमा विष्णु रिमाललाई प्रमुख तोकिएको छ, जसमा दुई सदस्य मात्रै चयन भएका छन् ।

प्रवक्ता ज्ञवालीको संयोजकत्वमा १५ सदस्य रहेको प्रचार विभाग पनि गठन गरिएको छ ।

यसैगरी, भानुभक्त ढकाल संयोजक रहने गरी १५ सदस्य रहेको पर्यटन प्रवद्र्धन विभाग गठन भएको छ ।

विदेश विभागको जिम्मेवारी डा.राजन भट्टराईले पाउनुभएको छ ।

उक्त विभागमा १४ सदस्य छन् ।

निर्वाचन विभागमा अग्नि खरेल संयोजक रहनुभएको छ ।

विभागमा ६ सदस्य मात्रै चयन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, स्थानीय तह विभागमा १४ सदस्य चयन गरिएको छ ।

प्रमुखको जिम्मेवारी देवेन्द्र दाहाललाई दिइएको छ ।

वरिष्ठ नेता नेपाल पक्षले एकताका लागि एकपछि अर्को मागहरू राख्दै आएपछि अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरूको बैठक बोलाएर विभिन्न निर्णयहरू गर्नुभएको हो ।

प्रवक्ता ज्ञवालीले पार्टीलाई नयाँ गतिका साथ अगाडि बढाउने उद्देश्यका साथ निर्णयहरू भएको बताउनुभयो ।

पार्टीभित्र देखिएको समस्या समाधानका लागि अहिले पनि छलफल जारी रहेको उल्लेख गर्नुहुँदै उहाँले परिणामको बारेमा केही भन्न नसकिने बताउनुभयो ।
परिणाम जस्तो आए पनि पार्टीलाई गतिशील बनाउनुपर्छ भन्ने उद्देश्यले बैठक बसेर निर्णय भइरहेको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

उहाँले भन्नुभयो– ‘पार्टीभित्र उत्पन्न समस्याको समधानका लागि छलफल जारी रहेको छ । परिणाम के हुन्छ यो बारेमा केही भन्न सकिन्न तर, पार्टीको गतिलाई अगाडि बढाएका छौं ।’

नेपाल पक्ष बैठकमा सहभागी नभए पनि फर्किएर आउने नेताहरूका लागि भन्दै केही ठाउँ खाली छाडिएको उहाँले बताउनुभयो ।

एमालेको आन्तरिक समस्या समाधान कार्यदलले गत असार २७ गते तयार गरेको १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउन पहल जारी रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित हुँदै आएको छ ।

एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइतबार निर्णय गरेको थियो ।

पार्टीको नवौँ महाधिवेशनबाट नै विधान र राष्ट्रिय गरी दुईवटा महाधिवेशनको परिकल्पना गरेकाले सोहीअनुसार गर्ने निर्णय भएको उहाँको भनाइ छ ।

एमालेको बैठकले असोज ३ गते सबै वडामा एकैदिन पार्टीको वडा अधिवेशन गर्ने र ९ गते सबै पालिकामा पार्टीको पालिकास्तरका अधिवेशन गर्ने निर्णय आइतबार नै गरेको थियो ।

उता, सोमबार नै बसेको वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले कुनै ठोस निर्णय गर्न सकेन ।

बैठकले पार्टी एकतालाई अन्तिम निष्कर्षमा पुर्याउन र पार्टी एकता जोगाउन थप पहल गर्ने निर्णय भने गरेको छ ।

नेता भीम आचार्यका अनुसार बैठकले एकताको पहल जारी राख्दै नेताहरूलाई उत्तेजित अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय पनि भएको छ । एकताविरोधी अभिव्यक्ति नदिन सबै नेताहरूलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।