कुलमान घिसिङद्वारा पदबहाली

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ ।

घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।

बुधबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्नुभएपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पदबहाली गर्नुभएको हो । उहाँलाई प्राधिकरणमा कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा मन्त्रालयले जनाएको थियो ।

२०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो ।

उहाँले सो अवधिमा लोडसेडिङ अन्त्य गर्नुभएको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लानुभएको श्रेय पाउनुभएको थियो ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य व्यवस्थापन गर्नुभएको थियो ।

त्यसपछि २०७५ वैशाखदेखि देश लोडसेडिङ मुक्त भएको घोषणा गर्नुभएको थियो ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गर्नुभएको थियो ।

घिसिङ प्राधिकरणमा नियुक्त हुनुभन्दा अगाडि आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड घाटामा थियो ।

२०७३ भदौमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वमा कुलमान घिसिङ नियुक्त हुनुभएपछि अघिल्ला हरेक वर्ष घाटामा जाँदै आएको प्राधिकरणलाइ आर्थिक वर्ष २०७३/७४ देखि नै नाफा भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले एक अर्ब ५० करोड खुद मुनाफा प्राप्त गरेको थियो ।

त्यसपछिका हरेक वर्ष नाफा रकम बढ्दै जाँदा प्राधिकरणले गएको आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब नाफा कमाएको बताइन्छ ।