एनआरएनएको लगानीमा ठमेलमा चार तारे होटल सञ्चालनमा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा कोरोनाको कहरका बीच दुई अर्ब ५० करोड रुपैयाँको लगानीमा चार तारे होटल सञ्चालनमा आएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको बेलामा डालिया इभेष्टमेन्ट कम्पनी र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को लगानीमा ‘रमदा इन्कोर बाई वाईनहेम काठमाडौं’ सञ्चालनमा आएको हो ।

उक्त होटल अमेरिकाको रमदा इन्कोरको पहिलो नेपाली चेन होटल हो ।

उक्त चार तारे होटल नेपाल भ्रमण वर्ष २०२० को शुरुवातमा सञ्चालनमा ल्याउने गरी तयारी थालिए पनि कोरोनाका कारण एक वर्ष ढिला गरी सञ्चालनमा आएको हो ।

मध्यम वर्गदेखि उच्च घरानिया वर्गलाई लक्षित गरी सञ्चालनमा आएको उक्त होटल विश्वमा नौ हजार २०० भन्दा बढी रहेका छन् ।

रमदा इन्कोरको भारतमा ५२ र चीनमा एक हजार ४०० भन्दा बढी चेन होटल छन् ।

विश्वका ८० देशमा रमदा इन्कोर बाई वाईनहेमका तीन तारेदेखि पाँचतारे होटल सञ्चालनमा रहेका छन् ।

नेपाल घुम्न आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न जाने गरेका छन् ।

होटलका सञ्चालक एवं डालिया इभेष्टमेन्ट कम्पनीका अध्यक्ष गोपाल पङ्गेनी भर्खरै सञ्चालनमा आएको रमदा होटल ठमेलमा अन्तर्राष्ट्रिय ब्राण्डको चेन होटल भएको बताउनु हुन्छ ।

‘अहिले ठमेलमा सञ्चालनमा आएको रमदा होटल चाँडै नै चितवनको सौराहामा सञ्चालन गर्दैछौं’, पङ्गेनी भन्नुहुन्छ ।

काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९० कोठा रहेको उक्त नौ तले होटलभित्र दुईवटा रेष्टुराँ, स्पा, स्वीमिङ पुल, जिम हल र दुईवटा कन्फरेन्स हल रहेका छन् ।

होटलको छतबाट काठमाडौं उपत्यकाको रमणीय वातावरण देख्न सकिन्छ ।

होटलका महाप्रबन्धक महेश फुयाँल रमदा होटलले दुईवटा रेष्टुराँमार्फत स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो रुचिअनुसारको खानेकुरा प्रदान गर्दै आएको बताउनु हुन्छ ।

‘एउटा रेष्टुराँमार्फत स्पेनिस, अरविक, टर्किस, मोरक्कन र अर्को रेष्टुराँमार्फत पानेशियन र इण्डियनलगायतका खाना प्रदान गरेका छौँ’, उहाँ भन्नुहुन्छ ।

रमदा होटलले क्याटरिङ र बैंक्वेट हल थप गरेर चाँडै नै पाँचतारे होटलमा जाने लक्ष्य राखिएको महाप्रबन्धक फुयाँलको भनाइ छ ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ ।

यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो ।

पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन् ।

यस्तै पाँचतारे होटलस्तरका दुई बुटिक होटलसमेत सञ्चालनमा छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ ।