वालुवाटारमा प्रहरी–प्रदर्शनकारी झडप

-- ?>

Strike_1

काठमाडौं— प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न गएका संघीय गठबन्धनका नेता–कार्यकर्ताहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीसंग झडप भएको छ । राससले जनाए अनुसार संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत २९ दलीय गठबन्धनले राजधानी केन्द्रित आन्दोलन अन्तर्गत दुई दिन सिंहदरबार आसपास घेराउ गरेपछि आज मंगलबार बालुवाटार घेराउ गरेको हो ।
आन्दोलनकारीले अन्य दिनको तुलनामा सुरक्षाकर्मीले बढी आक्रामक भई धर्नामा बसेकाहरुमाथि बल प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरीले भने प्रदर्शनकारीले निषेधित क्षेत्र तोडी अघि बढ्न खोज्दा तिनलाई पछि धकेलिएको र त्यस क्रममा एक प्रहरी सामान्य घाइते भएको जनाएको छ ।
प्रहरीसंगको झडपमा परी रञ्जित गोसामी घाइते भएको गठबन्धनमा आबद्ध दल संघीय समाजवादी फोरम नेपालका दुर्गा सुवेदीले जानकारी दिएका छन् । गठबन्धनले आइतबार र सोमबार माइतीघर मण्डल र हनुमानस्थानमा दिनभरि धर्ना दिई विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै मंगलबार बिहान १० बजेदेखि बालुवाटार घेराउ गरेको हो । गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्ताले नाराबाजी गर्दै आफ्ना माग सम्बोधन गराउन सडकमा धर्ना दिएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ । यातायात अवरुद्ध भएका कारण यात्रु हिंडेर गन्तव्यमा जान बाध्य भएका छन् । आन्दोलनकारीलाई बालुवाटार वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलता दृष्टिगत गरी प्रधानमन्त्री निवास बालुवाटारदेखि दक्षिणतर्फ इटालियन चोक र उत्तरतर्फ पवित्र वर्कसपसम्म, सभामुखको निवासदेखि पश्चिम दक्षिणतर्फ गैरीधारा जाने बाटाको १०० मिसम्म तथा प्रधानन्यायाधीशको निवास बालुवाटारदेखि पश्चिम लाजिम्पाटसम्म १०० मि र नेपाल राष्ट्र बैंक बालुवाटार चोकदेखि पूर्व १०० मिसम्म निषेधित क्षेत्र तोकेको छ ।