पत्रकारमाथि एनआरएनए यूके अध्यक्षले दिएको धम्किको भत्सना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

लण्डन- ध्रुवराज अर्यालको नेतृत्वमा रहेको नेपाल पत्रकार महासंघ बेलायतले हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्‍हरूद्वारा आयोजित भेलामा पत्रकारमाथि भएको अपमानजनक व्यवहारप्रति खेदप्रकट गरेको छ ।

शाखाको तर्फबाट महासचिव नरेन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै पत्रकारलाई अपमानजनक टीकाटिप्पणी एवं व्यवहार नगर्न चेतावनी दिइएको छ ।

विज्ञप्तिमा हालै सम्पन्न गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिष्दाहरूद्वारा आयोजित भेला बारे जानकारी दिन २६ अक्टोबर २०२१ का दिन गरिएको भर्चुअल पत्रकार सम्मेलनका क्रममा यस शाखाका पूर्वअध्यक्ष चिरन शर्मा र सल्लाहकार श्याम लुइँटेलसहितका पत्रकारप्रति आयोजक समूहका सदस्यबाट अपमानजनक व्यवहार भएकोप्रति शाखा खेद प्रकट गरेको हो ।

पत्रकार सम्मेलनमा आमन्त्रित रूपमा सहभागी पत्रकारहरूको उचित सममान र प्रश्न सोध्न पाउने अधिकारतर्फ सचेत र प्रतिबद्ध रहन शाखा सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछ ।

पत्रकार र मिडियासँग सम्बन्धित कुनै पनि गुनासो सभ्य र मर्यादित विधि, प्रक्रियामार्फत सम्बन्धित निकायमै राख्न तथा पत्रकार र मिडिया बारे सार्वजनिक रूपमा अपमानजनक टीकाटिप्पणी एवं व्यवहार नगर्नसमेत शाखाको आग्रह छ ।

यसअघि गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगर सो पत्रकार सम्मेलनमा पत्रकारद्वयमाथि अमर्यादित तथा आपत्तिजनक शब्द प्रयोग गर्दै दम्की दिएका थिए ।