बैतडीमा जन्ती बोकेको जीप दुर्घटना : सबै मृतकको परिचय खुल्यो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, मंसिर ६, २०७८

बैतडी– बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नंको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

जीपमा सवार रहेका सात जनामध्ये पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का रहेका छन् ।

दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताउनुभयो ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ ।

आइतबार राति साढे आठ बजेतिर जीप सडकबाट सात सय मिटर तल खसेको थियो ।

दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।