‘उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ’

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ–आफ्नो अनुभव, योग्यता, सोच र अवधारणासम्बन्धी जानकारी लिएपछि उहाँहरुका नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित तीनैजना राजदूतको नाम समितिबाट सर्वसम्मतरुपमा अनुमोदन भएको जानकारी दिनुभयो ।

यसैबीच, भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताउनु भएको छ । संसदीय सुनुवाइका क्रममा उहाँहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोेट व्यक्त गर्नुभएको हो ।

समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत गर्ने क्रममा उहाँहरुले नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाउनुभयो ।

उहाँहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पुर्याई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवद्र्धनका लागि जोड दिने बताउनुभयो । यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्र्याउने सुझाव दिनुभयो । उहाँहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि भित्र्याउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता लाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुुक्तिका लागि बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट उहाँहरुको नियुक्ति हुनेछ । प्रस्तावित तीनैजना नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचयन बनाउनुभएका व्यक्तित्व हुनुहुन्छ ।