देशका विभिन्न स्थानमा हिमपात: जनजीवन प्रभावित

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– मंगलबार रातिदेखि परिरहेको अविरल वर्षा तथा हिमपातका कारण देशका विभिन्न भूभागको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण विभन्न सडकहरु नै अवरुद्ध भएका छन् । आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौंबाट हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उहाँले मौसम सुधार भएमा आज दिउँसो अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो ।

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ । रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।

डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको हगुल्टे र साहुखर्क क्षेत्रमा रातिदेखि हिमपात भएपछि यातायात अवरुद्ध छ । हिउँ परेपछि तराई–पहाडका जिल्लाका लागि गुडेका सवारीसउाधन राजमार्गमै रोकिएका छन् । यात्रु बाटोमै अलपत्र परेको बताइएको छ ।

मङ्गलबार बेलुकादेखि पानी पर्न सुरु भएसँगै रातिदेखि हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क र हगुल्टेमा आज बिहानदेखि सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर पठाइएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबलबहादुर मल्लले बताउनुभयो । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।

बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ । बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्ग अवरुद्ध छ । बाजपानी, ढोल्यामोड, खोडपे क्षेत्रमा परेको हिउँका कारण जयपृथ्वी राजमार्गमा पनि सवारीसाधन चल्न नसकेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘अझै हिउँ पर्ने क्रम जारी छ, यातायातका साधन चल्न सकेका छैनन् ।’ हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमपात भएपछि किसान भने खुशी भएका छन् । यस वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।