अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

तनहुँ– जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन् । उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए । तर, उनले आज मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । म्याद थपका लागि उनलाई प्रहरीले हथकडी लगाएरै अदालतमा पेश गरेको थियो ।

यसअघि आज बिहान प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । १७ वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिनुभएको थियो । पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ । जाहेरीमा निज शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१० विपरीतको कसुर अपराधमा कडाभन्दा कडा कारवाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

उता, अभिनेता शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो । गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । पीडित किशोरीले आज आफन्तसहित गएर इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी गिरीले बताउनुभयो । पीडित किशोरीको उजुरीपछि प्रहरीले घटनास्थलको अनुसन्धानको काम सकेर आजै उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको गिरीको भनाइ छ ।

‘किशोरीको जाहेरीपछि हामीले घटनास्थलको काम सकाएर आजै उहाँको मेडिकलको काम गर्ने तयारी गरिरहेका छौँ’, गिरीले भन्नुभयो– ‘भरतपुरमा लगेर उजुरीकर्ताको मेडिकल गर्छौँ, त्यसपछि मात्रै उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने एकिन हुन्छ ।’ गैँडाकोटमा आज उजुरी दिएकी गायिकाले गत फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उजुरी दिएकी थिइन् । गायिकाको उजुरीपछि प्रहरीको फरार सूचिमा रहेका नायक शाह आज जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन् ।