विश्व पानी दिवस-२०२२ मा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– आज विश्व पानी दिवस २०२२ । हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाउने गरिन्छ । समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘भूमिगत जलस्रोतको महत्व बुझौँ, सबै मिली संरक्षण गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाउने गरिन्छ ।

यो अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । ‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ’, राष्ट्रपति भण्डारीबाट आज जारी सन्देशमा भनिएको छ९ ‘भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो । जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ ।’

‘बढ्दो शहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् । भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संवद्र्धन गर्नु पर्दछ’, सन्देशमा भनिएको छ । उहाँले शहरी क्षेत्रमा बर्सातको पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने बताउनुभएको छ । साथै भूमिगत पानी पुनःभरणमा सहयोग गर्ने विभिन्न प्रजातिका फलफूल तथा बोटविरुवा रोप्ने कार्यलाई देशव्यापी अभियानका रूपमा सञ्चालन गर्दै द्रूत जलप्रवाह हुने भूगोलमा ‘चेक ड्याम’ लगायतका नवीन प्रविधिको प्रयोगद्वारा भूमिगत पानीको पुनःभरण कार्यलाई प्रोत्साहन गर्न राष्ट्रपति भण्डारीले सबैमा आह्वान पनि गर्नुभएको छ ।

यसगरी प्रधानमन्त्री शेरबहादुर देउवाले जलस्रोतको ठूलो अंश मानिने भूमिगत जलस्रोतको प्रयोगमा जनसङ्ख्याको ठूलो हिस्सा आश्रित भइरहेको हुँदा जलभण्डारको पहिचान र दिगो उपयोग गर्दै उपलब्ध जलभण्डार र पानीको गुणस्तरको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ । ‘भूमिगत जलस्रोतको संरक्षण र संवद्र्धन गरौँ’ भन्ने नाराका साथ यस वर्ष मार्च २२ का दिन मनाइने विश्व पानी दिवसका अवसरमा शुभकामना दिँदै उहाँले भूमिगत जलस्रोतको संरक्षण र संवद्र्धनमा आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबैमा आह्वान गर्नुभएको छ । संरक्षणको जिम्मेवारीलाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न अन्तर निकाय समन्वय, सूचना प्रणालीको सुदृढीकरण, जलस्रोतको समन्यायिक वितरणका साथै यस विषयमा प्राज्ञिक अध्ययन, अनुसन्धान र प्रभाव विश्लेषणलगायतका कार्यलाई निरन्तर सञ्चालन गर्न आवश्यक हुने उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले सरकारको एकल प्रयासले मात्र भूमिगत जलस्रोतको संरक्षण र दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइसम्बन्धी लक्ष्य हासिल गर्ने प्रयास पर्याप्त नहुने हुँदा यस कार्यमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले मुलुकमा सङ्घीय शासन व्यवस्था लागू भएपश्चात् एकीकृत जलस्रोत व्यवस्थापन, पानीको न्यायोचित र समुचित व्यवस्थापन, स्रोतको समन्यायिक वितरणलाई मूल ध्येय राखी जलस्रोत नीति, २०७७ तयार भई कार्यान्वयनमा आइसकेको अवगत गराउनुभएको छ । उहाँले विश्व पानी दिवसका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यो दिवसले सबैलाई पानीको दिगो र सुरक्षित उपयोग गर्ने बानी बसाल्न अभिप्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।