चलचित्र क्षेत्रका समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले चलचित्र क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने यस क्षेत्रका कलाकार र चलचित्र निर्मातालाई आश्वासन दिनुभएको छ । गृह मन्त्रालयमा बिहिबार चलचित्र क्षेत्रका प्रतिनिधिसँगको भेटमा उहाँले जनतालाई राष्ट्र, राष्ट्रियता, संस्कृति र रहनसहनबारे कलाका माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको बताउनु भयो । भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति, २०७१ कार्यान्वयनमा ल्याउन पहल गरिदिन गृहमन्त्री खाणसमक्ष अनुरोध गर्नुभएको थियो । त्यसको जवाफमा मन्त्री खाणले समस्या समाधानका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको हो ।

भेटमा अभिनेता भुवन केसी, अभिनेत्री एवं निर्देशक दीपाश्री निरौला, अभिनेता अनमोल केसी, निर्देशक मिलन चाम्स, चलचित्र निर्माता नवल खड्का, गायक हेमन्त शर्मालगायतको सहभागिता थियो । उहाँहरूले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने ऊर्जा प्रदान भएकोसमेत बताउनु भयो । विदेशी चलचित्रले नेपालबाट पैसा लैजाने तर नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्र्याउन सक्ने अवस्था नरहेको जानकारी गराउँदै कलाकारले नेपाली चलचित्रलाई विदेशमा समेत चल्नसक्ने बनाउने नीति निर्माणको पहल गरिदिन पनि आग्रह गर्नुभएको थियो ।

मन्त्री खाणसंगको भेटघाटमा सहभागि कलाकार तथा निर्देशक नवल खड्काका अनुसार उक्त भेटमा चलचित्रकर्मीहरुले समग्र चलचित्र क्षेत्रको समस्या राख्दै समाधानको विषयमा गम्भीर र सकारात्मक छलफल भएको छ । छलफल पश्चात् मन्त्री खाणले गृह सचिव टेकनारायण पाण्डेलाई चलचित्रको छायांकनमा प्रयोग हुने हातहतियार र प्रहरीसँग सम्बन्धित सरसामाग्री उपलब्ध गराउने स्पष्ट नीति बनाउन, आगामी दिनमा विभूषण, पुरस्कार, सम्मान दिइँदा चलचित्र सम्बन्धी संघसंस्थाको सिफारिस माग्न, राष्ट्रिय चलचित्र नीति लागू गराउन सहयोग पुर्‍याउन निर्देशन दिनु भएको छ । ‘स्वदेशी चलचित्रलाई राज्यको तर्फबाट दिनुपर्ने सेवा, सुविधा, चलचित्र प्रदर्शनमा हुने झन्झटिलो परिस्थितिका साथै सेन्सरमा हुने झमेलाकाबारे पनि हामीहरूले प्रष्टाएका थियौं, अभिनेता खड्काले फेसबुकमा लेखेका छन्– ‘यसबारेमा कुनै समस्या आइपरे गृह मन्त्रालयको ढोका सधैं खुला हुने कुरा गृहमन्त्री र गृह सचिवले आश्वाशन दिनु भएको छ ।’