स्थानीय तह निर्वाचनको सबै तयारी पूरा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २९, २०७९

काठमाडौं- निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक तयारी गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । पचपन्न हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट मौन अवधि सुरु हुने व्यवस्थाबमोजिम वैशाख २७ गते मध्यराति १२ बजेदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता, २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ । यस अवधिमा आचारसंहिताको कार्यान्वयनका लागि नियमित अनुगमन संयन्त्रका साथै निर्वाचन अनुगमन टोलीले पनि काम गरिरहेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त उल्लङ्घनसम्बन्धी सूचनालाई पनि आयोगले जानकारीमा लिइ आवश्यक कार्य गरिरहेको छ । आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लङ्घनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने नौवटा सचेत र एक वटा ध्यानाकर्षणको निर्णय भएको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पत्रकारको प्रश्नको जवाफमा उहाँले मतदान सम्पन्न भई मतपेटिका गणनास्थलमा आइपुगेपछि गणना सुरु हुने र गणस्थलमा सिसी क्यामरा जडान गर्न अधिकांश स्थानमा प्रबन्ध भइसकेको जानकारी दिँदै मतगणना कार्यलाई विश्वासिलो, भरपर्दाे, पारदर्शी र स्तरीकृत गर्ने आयोगको तयारी रहेको अवगत गराउनुभयो । मतगणनाको एकीकृत र नियमित विवरण आयोगको वेब लिङ्कमार्फत सार्वजनिक हुने पनि स्पष्ट पार्नुभयो ।