जनकपुर आइपुग्यो धार्मिक पर्यटक बोकेको रेल

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

जनकपुर– नेपाल–भारत रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्याहुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट बिहिबार जनकपुरधाम आइपुगेको छ । ठूलो संख्यामा धार्मिक पर्यटकसहित रेल जनकपुरधाम आउँदा विभिन्न ठाउँमा भव्य स्वागत गरिएको छ । ‘भारत गौरव टुरिस्ट रेल’ नामक विशेष रेलमा १४ वटा डिब्बा छन् । रेलको दुईवटा डिब्बा योगसम्बन्धी तस्बिर तथा सामग्री अंकन गरिएको छ । रेलको बाहिरी भागमा भारतका विभिन्न शास्त्रीय एवम् लोकनृत्य, पोसाक, पर्व, परिकार प्रवर्द्धन गर्ने चित्र सामग्री राखिएका छन् । भारतीय समयअनुसार उक्त रेल मंगलबार साँझ ७ बजे नयाँदिल्लीबाट जनकपुरका लागि प्रस्थान गरेको थियो ।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि त्रेता युगीन भगवान् राम र जगत्जननी सीताको जीवनगाथासँग जोडिएका स्थलका आधारमा भारत सरकारले रामायण सर्किट बनाएको छ । रामायण सर्किटका क्रममा विशेष रेल यात्रा दिल्लीबाट प्रारम्भ भएको हो । राम र सीताको मूलतः पथागमन भएको त्यस कालखण्डका विभिन्न ठाउँमध्ये जानकी पिता राजा जनकको प्राचीन राजधानी जनकपुरधाम समेत भएकाले रामायण सर्किटमा जनकपुरधाम समेतलाई भारत सरकारले समेटेको छ ।

नेपाल प्रवेश गर्नुअघि उक्त रेल भारतको जयनगरस्थित नेपाली रेलवे स्टेशनमा करिव ४० मिनेटसम्म रोकिएको थियो । उक्त स्टेशनमा कस्टम क्लियरेन्स गरेपछि रेल जनकपुरका लागि प्रस्थान गरेको थियो । छ सय यात्रुहरुको क्षमता रहेको रेलमा भारतका विभिन्न राज्यका कुल ४ सय ८१ यात्रुहरु सवार छन् । रेललाई जयनगरमा पनि स्थानियवासीले फूल बर्साएर स्वागत गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । रेलबाट उत्रिएका यात्रुहरुले सुरक्षाकर्मीहरुसंग सेल्फी लिँदै जनकपुर पुग्न उत्साहित भएको प्रतिक्रिया दिएका थिए । बिहिबार राति जनकपुरमै बसेका भारतीय धार्मिक पर्यटकहरुले जनकपुरमा रामजानकी मन्दिर, राम–सीता विवाह मण्डपसहितका स्थानको भ्रमण गर्नेछन् ।

शुक्रवार उक्त रेल भारत फर्किने छ । जनकपुरबाट सीतामढीहुँदै यो रेल बनारस पुग्ने बताइन्छ । यो रेल दिल्लीको सफदरजंग रेलवे स्टेशनबाट अघि बढेको हो । यो रेलले १७ रात तथा १८ दिनको यात्रा गर्नेछ । रेलले रामायण कालका अयोध्या, बक्सर, जनकपुर, सीतामढी, काशी, चित्रकुट, नासिक, हम्पी, रामेश्वर, कांचीपुरम, भद्राचलम आदि स्थानसम्म पुग्ने छ । १४ वटा डिब्बा भएको भारत गौरव रेलका सबै डिब्बाहरु एसी थर्ड क्लासका भएको बताइन्छ । यात्राको क्रममा यात्रीहरुलाई एसीसहितको होटलमा राखिएको छ । शाकाहारी भोजनसहित यात्राहिरुको सुरक्षा तथा बीमा समेत गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षअघि भएको जनकपुरधाम भ्रमणका क्रममा नेपाल र भारतबीच रामायण सर्किट तयार गर्ने सम्झौता भएको थियो । केही समयअघि मात्र जयनगर–जनकपुर–कुर्था रेल सेवा सुरु भएको थियो । यो रेल्वे सञ्जाल ब्रोडगेज भएकाले दिल्लीबाट छुटेको रेल सीधा जनकपुरधाम आउन सकेको हो ।

भारतीय पर्यटकहरूलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले यो धार्मिक पर्यटनलाई मधेस प्रदेश सरकारले ठूलो अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले रामायण सर्किटका आधारमा पर्यटक आगमन हुँदा दुई देशबीचको सम्बन्ध मजबुत हुनुका साथै जनकपुरधाम लगायतका ठाउँमा पर्यटकीय सम्भावना बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री महतोले मधेस प्रदेशको आर्थिक सम्वृद्धिमा पर्यटन र कृषि क्षेत्रलाई लिनुपर्ने बेलामा धार्मिक पर्यटकको आगमनबाट यस क्षेत्रको सर्वपक्षीय विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराइने जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहले पर्यटक आगमनलाई दृष्टिगत गरी जनकपुरको सरसफाइ तथा सौन्दर्यीकरणका लागि वडा कार्यालयलाई साधनस्रोत उपलब्ध गराइने प्रक्रिया प्रारम्भ गरिसकिएको बताउनु भयो ।