न्यू रिभोलुशन व्याण्डसँग झुमे सिड्नीका युवाहरु

-- गोपाल छन्त्याल / प्रकाशित मिति : शुक्रबार, असार १०, २०७९

सिड्नी । अष्ट्रेलियाको प्रमुख शहर सिड्नीको मौसम निकै चिसो छ । दिउसो उकाली चढ्ने यहाँको तापक्रम साँझबिहान करिब ५ डिग्रीको हाराहारीमा झर्छ । तर, बिहीबार साँझ सिड्नीको मुटु टावनहलस्थित मेट्रो थ्रिएटरमा चिसो र जाडोको त्यस्तो कुनै प्रवाह थिएन् । प्रवाह थियो त केवल, उत्साह, उत्सुकता र मनोरञ्जनको । अष्टे«लिया भ्रमणमा रहेको नेपाली रक ब्यान्ड ‘रोबिन एन्ड द न्यू रिभोलुसन’ व्याण्डको प्रस्तुतीमा सिड्नीका नेपाली युवाहरु पढाई र तनाबलाई भुलेर आनन्दले रमाए ।

व्याण्डले यसअघि, गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा डार्विनमा सम्पन्न भएको नेपाली फेस्टिभलको अवसरमा कन्सर्ट सम्पन्न गरेको थियो । सिड्नीमा प्रस्तुती दिनुअघि व्याण्डले डार्विनसँगै मेलर्वन र अष्ट्रेलियाको राजधानी क्यानबेरामा कन्सर्ट सम्पन्न गरिसकेको थियो । नेपाली विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनको गन्तव्य बनिरहेको अष्टे«लियाका विभिन्न शहरमा आफ्नो व्याण्डले प्रस्तुती दिन पाउँदा ज्यादै खुशी लागेका व्याण्डका संस्थापक एवम् कलाकार रोविन तामाङले बताए । कलाकार तामाङसहित गिटारिष्ट प्रविन श्रेष्ठ, हरि महर्जन र ड्रमर विजय बराल लगायतका टोलीले दुईघण्टासम्म नेपाली रक विधाका विभिन्न गीतहरु सुनाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

भिडियोका लागि:

 

मोमो अफिसको प्रस्तुती, गुड वेए एजुकेशन एण्ड भिषा सर्भिस लगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित कन्र्सटमा सिड्नीमा रहेका नेपाली युवाहरुका व्याण्डले समेत प्रस्तुती दिएका थिए । कार्यक्रममा एनआरएनए अष्टे«लियाका अध्यक्ष नन्द गुरुङ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रम संयोजक एवम् गुड वे एजुकेशन एण्ड भिषा सर्भिसका सुरज खतिवडाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यबाद दिएका छन् । उनले, कन्र्सटका लागि ‘मोमो अष्ट्रेलिया’को आधिकारिक एकाउण्ट खोलेका सहभागीहरु मध्ये भाग्यशाली तीनजनाले व्याण्डका कलाकाहरुले हस्ताक्षर गरेका गिटार पाउने बताए । ‘लक्की ड्र’ जुलाई ७ मा हुनेछ । व्याण्डले विस्रवेनमा पनि आफ्नो प्रस्तुती दिने जनाएको छ ।