रहेनन् कांग्रेस नेता प्रदीप गिरि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको शनिबार राति निधन भएको छ । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको शनिबार राति ९:३० बजे निधन भएको हो ।
उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा‌. पंकज वर्मनका अनुसार शरीरका अन्य भागमा पनि क्यान्सर फैलिएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको थियो । भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो । गिरि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए । गान्धीवादी नेताका रुपमा परिचित गिरिलाई कांग्रेसका प्रखर नेताका रुपमा समेत लिने गरिन्थ्यो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले गिरिकाे निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । गिरिको देहावसानले नेपालले सच्चा र असल नेता गुमाएको देउवाले उल्लेख गरेका छन् । समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको हो । गिरिको शव आईतबार बिहान ११ बजेसम्म मेडिसिटी हस्पिटलको शिवालयमा राखिनेछ भने त्यसपछि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा रहेको बिपी स्मृति भवनमा राखिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।