नवौँ राष्ट्रिय खेलकुदको आज समापन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

पोखरा– गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज कात्तिक ३ गते समापन गरिने कार्यक्रम छ । प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिएका छन् । उनका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र उक्त प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ । प्रतियोगिता समापनअघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ । विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन् । केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ ।

आज पोखरामा विशेष बिदा
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका अवसरमा पोखरा महानगरपालिकाले बिहिबार एक दिन विशेष बिदा दिएको छ । महानगरले बुधवार एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय एवं मन्टेश्वरीमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।

महानगरले समापन समारोहमा महानगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घसंस्थालाई सहभागी हुनसमेत आग्रह गरेको छ । नागरिक समाज, आमा समूह, टोल विकास संस्था, युवा क्लब, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलगायत आम नगरवासीलाई दिउँसो २ बजे नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उपस्थित हुन पनि अनुरोध गरिएको छ । प्रदर्शनी केन्द्रबाट जम्मा भएर बृहत् सहभागिताबीच पोखरा रङ्गशालामा प्रवेशको कार्यक्रम रहेको महानगरले जनाएको छ । राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थलका रूपमा पोखरा महानगरपालिका र यसका विभिन्न वडामा रहेका खेल मैदानमा प्रमुख खेल सञ्चालन भइरहेका छन् । राष्ट्रिय खेलकुद आयोजना पोखरा महानगरपालिका र पोखरेलीका लागि गौरवको विषय रहेको महानगर प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार समारोहमा आमनगरवासीको उल्लेखनीय सहभागिता रहनेछ ।