‘उधौली पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको छ’: प्रधानमन्त्री देउवा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत समुदायको पर्व उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उधौली पर्वका अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत समुदायमा जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन (आज) देखि सुरू भई १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ । यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गरिन्छ । उधौली पर्वका अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।

प्रधानमन्त्री देउवाले विभिन्न जातजाति र समुदायको साझा फूलबारीका रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम भूमिका निभाएको उल्लेख गर्नुभएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उहाँले उल्लेख गर्नुभएको छ ।

उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न यस पर्वले सहयोग गरेको बताउनुभएको छ ।

धानको पूजा गरी मनाइँदैछ धान्यपूर्णिमा
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज बिहिबार धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी र मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गर्नुपर्ने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी, नुवाकोटको शिखरबेँसी र दुप्चेश्वरलगायत स्थानमासमेत मेला लाग्ने गर्दछ ।

योमरी पूर्णिमा योमरी पुन्ही पनि आजै

नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा रहेको छ ।

strong>आज उधौली पर्व मनाइँदै

प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ’, किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन् – ‘यस चाडमा किराँती एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।’

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा÷पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।

‘धर्ती तातो हुँदै जाँदा चराचुरुङ्गी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो । यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुङ्गी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो’, किराँती राई यायोख्खाका अध्यक्ष राईले बताए । यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनी भन्छन्– ‘उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौली झैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।’