अष्ट्रेलियामा नेपाल सम्बन्धि पुस्तक अनावरण 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, पुस २०, २०७९

अष्ट्रेलिया | कृषि, बन र वातावरण क्षेत्रमा अष्ट्रेलियामा कार्यरत नेपाली मूलका पेशागत विज्ञहरुको संगठन (Nepalese Association of Agriculture, Forestry and Environment in Australia, NEPAFE) र अष्ट्रेलियाको सिड्नीमा अवस्थित अनुसन्धान संस्था – Institute for Study and Development, Worldwide (IFSD ) को संयुक्त आयोजनामा गत डिसेम्बर १० तारिखका दिन एक भर्चुअल कार्यक्रम मार्फत Springer Nature द्वारा प्रकाशित Agriculture, Natural Resources  and Food Security: Lessons from Nepal नामक पुस्तक अनावरण कार्यक्रम सम्पन्न भयो। सो पुस्तकको अनावरण अष्ट्रेलियाका लागि नेपालका राजदुत महामहिम कैलाश राज पोखरेल र नेपाल सरकारको  कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोबिन्द प्रसाद शर्माले संयुक्त रुपमा गर्नु भएको थियो । पुस्तक अनावरणपछि अथितिद्वयबाट हाल नेपालले सामना गरिरहेको चरम खाद्य असुरक्षा कम गर्न र संयुक्त राष्ट्र संघले लिएको दिगो विकासका लक्ष्यहरू हासिल गर्न पुस्तकको महत्वपूर्ण योगदान हुनसक्ने विचार प्रस्तुत गर्नु भएको थियो।
विश्वका विभिन्न देशबाट सो कार्यक्रममा सहभागी हुनु भएका सबै अथितिहरु लाई स्वागत गर्दै नेपाफका उपाध्यक्ष डा. सिताराम घिमिरेले सो कार्यक्रमको संचालन गर्नु भएको थियो भने नेपाफका वर्तमान सल्लाहकार एबं पुस्तकका प्रधान सम्पादक डा. जगदीश तिम्सिनाले पुस्तकको बारेमा बिस्तृत जानकारी प्रदान गर्नु भएको थियो। जम्मा २४ ओटा अध्याय (च्याप्टर) रहेको सो पुस्तकमा ६५ जना अनुसन्धानकर्ताहरुले लेखन मार्फत र ४० जना पुनराबलोकनकर्ताहरु ले अध्यायहरुको पुनराबलोकन सुझाब मार्फत योगदान दिनु भएको छ। यो पुस्तकको सम्पादनमा अन्य ४ विज्ञहरु- प्राध्यापक टेक मरासेनी, डा. हेमन्त ओझा, डा. देवेन्द्र गौचन, र डा. जगन्नाथ अधिकारीको महत्वपुर्ण भूमिका रहेको थियो।
पुस्तकको बारेमा बिस्तृत जानकारी दिने क्रममा डा. तिम्सिनाले पुस्तकले समस्या निदान र समाधानको पहिचानका लागि एकीकृत र अन्तरक्षेत्रीय दृष्टिकोण अपनाएको प्रकाश पार्दै पुस्तक ग्राउन्डब्रेकिंग भएको बताउनु भएको थियो। त्यसैगरी अनुसन्धान र अभ्यासमा आधारित ज्ञान प्रस्तुत गर्न अन्तर-विषय दृष्टिकोण अपनाइएको र पुस्तकले नेपालमा कृषि, पशुपन्छी, वन र पोषण, खाद्य र पोषण सुरक्षाका विषयहरू मा अद्यावधिक अनुसन्धान गर्नुका साथै विशेषगरी दक्षिण एसियासँग जोड्ने प्रयास पनि गरिएको कुरा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अन्तर्कृया सत्रमा अमेरिका, इटली, अष्ट्रेलिया, मोरोक्को, भारत, श्रीलन्का, बाङ्लादेश र नेपाल गरी आठ देशबाट सहभागि विज्ञहरुले पुस्तकको बिबेचना गर्नुभएको थियो।
सो कार्यक्रममा उपस्थित विज्ञहरु मध्येबाट क्वीन्सल्याण्ड विश्वविद्यालयका अबैतनिक प्राध्यापक तथा सो पुस्तकका पुनराबलोकनकर्ता डा. जोन डिक्सनले पुस्तकका सम्पादक र योगदानकर्ताहरूलाई बधाई दिनुका साथै सम्पादन मण्डल पनि बिषयगत रुपमा बिबिधतापूर्ण भएको र यसले नेपालका विभिन्न कृषि प्रणाली र ज्ञानका आधारहरू एकिकृत गर्नुपर्ने आवश्यकताको सम्झना गराएको कुरा प्रस्ट्याउनु भएको थियो।  कार्यक्रमको अन्त्यमा आयोजकका तर्फबाट नेपाफका अध्यक्ष डा. एकिन्द्र तिमील्सिना र IFSD का डा. बसुन्धरा भट्टराईले सम्पूर्ण सहभागिलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो।