बाल यौन दुर्व्यवहार र बलात्कारको आरोपमा थुनामा रहेका मनोज पाण्डे दोषी ठहर

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका मनोज पाण्डेलाई दोषी ठहर गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासले आज पाण्डेविरुद्ध बाल यौन दुर्व्यवहारको अभियोगमा दाबी पुग्ने ठहर गरेको हो । अदालतले सजाय भने अर्को पेसी तोकेर निर्धारण गर्ने भएको छ । बाल यौन दुर्व्यवहारमा तीन वर्ष कैद र रु ३० हजार जरिवाना हुने मुलुकी ऐनमा व्यवस्था छ तर अदालतले सजाय निर्धारण गर्न बाँकी छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा पाण्डेलाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले २०७९ असार १ गते पाण्डेविरुद्ध जबर्जस्ती करणी र यौन दुर्व्यवहारको अभियोगमा मुद्दा दायर गरेको थियो । एक मोडललाई लामो समयसम्म बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोप पाण्डेमाथि लागेको थियो । सामाजिक सञ्जालमार्फत बलात्कारपछि फोटो र भिडियो खिचेर पाण्डेले ‘ब्ल्याकमेल’ गर्दै छ महिनासम्म निरन्तर यौनशोषण गरेको आरोप पीडितले लगाएकी थिइन् । उक्त घटनाको सर्वत्र छानबिन गर्न मागको आवाज उठेपछि प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।