संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडाैं- संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए । आगलागीमा आचार्यको शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था भएको चिकित्सकहरुको भनाइ छ ।

उनको उपचारकै क्रममा बुधवार बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ । इलाम घर भएका आचार्यले मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर घटना भएको २० मिनेटमै उनलाई कीर्तिपुरस्थित अस्पताल पुर्‍याएको थियो । आचार्यलाई भेट्न मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की अस्पताल पुगेर उनको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी थिइन् ।