सुदूरपश्चिमका मुख्यमन्त्री रावल पदमुक्त, शाह नियुक्त

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार आज प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । कैलाली निर्वाचन क्षेत्र नं २ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित शाहलाई साँझ प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसअघि प्रदेशसभाको आजको बैठकमा विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुखसमक्ष साँझ राजीनामा दिनुभएको थियो । रावल एमाले संसदीय दलका नेता हुनुहुन्छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

यसअघि, बुधवार दिउँसो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी प्रदेशसभा बैठकमा राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रदेशसभाको आजको बैठकमा आफूमाथि विश्वासको मत प्राप्त होस् भनी मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्नुहुँदा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो ।

बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । प्रस्ताव असफल भएपछि मुख्यमन्त्री रावलले आफूले संसदीय प्रक्रिया र मान्यतालाई सहर्ष स्वीकार गर्ने प्रतिक्रिया दिनुभयो । आजको बैठकमा सत्तापक्षीय नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।

नेकपा एमाले संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले नेकपा माओवादी केन्द्र, नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सदस्यको बहुुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले आज विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । नेपालको संविधानअनुसार अब प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । कांग्रेस संसदीय दलको नेता कमलबहादुर शाह हुनुहुन्छ ।