ग्यास सिलिण्डर विष्फोट हुँदा सांसद भण्डारी गम्भीर घाइते

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– नेपाली कांग्रेसका सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन् ।
भण्डारीको निवास बुद्धनगर, काठमाडौं मा बुधवार राति करिव १० बजे ग्यास सिलिण्डर विष्फोट भएको थियो । दुर्घटनामा भण्डारीकी ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छिन् ।

उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिएका छन् । महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन् ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ । उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर विष्फोट भएको थियो । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन् ।