आज ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईंदैछ । जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष फागुन ७ का दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । आजको दिन राणा शासकहरूको १०४ वर्ष लामो निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । त्यसैले आजको दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को रुपमा मनाउने गरिनछ ।

प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने धारणा व्यक्त भएको छ । राष्ट्रपतिले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजु–भाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गरेकी छिन् ।

‘हामीले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ सहिदको सपना एवं जनताको आकाङ्क्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनु पर्दछ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्नरूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् सहिदहरू गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको सहादत भएको विषय राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको बताएका छन् । नेपाली जनताको त्याग, तपस्या र बलिदानको जगमा स्थापित प्रजातन्त्रले आफूलाई परिस्कृत र परिमार्जन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण परिस्थितिसम्म आइपुगेको उनले जनाएका छन ।

‘आजका समस्त उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको छ,’ बक्तब्यमा भनिएकाे छ- ‘तसर्थ, ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको राष्ट्रिय कार्यभार हुन आइपुगेको छ ।’