आज फागु पूर्णिमा अर्थात् होली पर्व

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

(प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘प्रेमा’ का मुख्य कलाकार अरुण क्षेत्री तथा शुभेक्क्षा खड्का होलीको विशेष फोटोसेसनमा ।)

काठमाडौं– आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज सोमबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । तराईमा भने भोलि मंगलबार होली मनाईँदैछ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु प्रारम्भ हुन्छ ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । तराईमा भने मङ्गलबार होली मनाइँदै छ ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंले रेलिङ नभएका छत र सडकमा होली नखेल्न आग्रह गरेको छ । विगतका वर्षहरूमा रेलिङ नभएका छत र सडकमा होली खेल्दा अप्रिय घटनाको जोखिम बढेको देखिएको भन्दै परिसरले रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न आग्रह गरेको हो । सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तरिकाले होली खेल्न प्रहरीको आग्रह छ । होली पर्वका नाममा उछृङ्खल क्रियाकलाप नगर्न पनि प्रहरीको अनुरोध छ । अपरिचित मानिसहरूको समूहमा पनि होली नखेल्न प्रहरीले अनुरोध गरेको छ ।

‘कसैको इच्छा विपरीत रङ, लोला, मोसो, केमिकल, फोहोर पानी र छाला आँखामा असर हुने गरी रङ नलगाउनु होला,’ प्रहरीले भनेको छ– ‘ट्राफिक नियमको पूर्ण पालना गरौँ । मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔँ । भिडभाड हुने स्थानमा पाकेटमारी लुटपाट हुने सम्भावना बढी हुँदा सावधान रहनु होला ।’ प्रहरीले जारी गरेको अनुरोध पत्रमा कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा थाहा पाएमा प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिएको छ । कानुन विपरीतका गतिविधिहरू गरेको पाइए जरिवाना र कारवाही गरिनेसमेत गरिने प्रहरीले चेतावनी दिएको छ । परिसरले महँगा गरगहना लगाएर होली खेल्ने ठाउँमा नजान र अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि आग्रह गरेको छ ।