चिन्ता स्टारडमको

-- नारायण खडका / प्रकाशित मिति : सोमवार, जेष्ठ २४, २०७३

Bhuwan & Anmol 3आफू चलचित्रमा ब्यस्त भइरहँदा त्यतिबेलाका जल्दाबल्दा नायक भुवन केसी आफ्नो छोरा पनि चलचित्र क्षेत्रमा स्थापित हुन्छ भन्नेमा ढुक्क थिए । आफ्नी आमाको पेटमा रहन्दा नै चलचित्रको एक्सन, कट, नृत्य, पत्रकारहरूसँगको अन्तरवार्ता लगायतका कुराहरू अनुभव गरेकाले समेत आफ्नो छोराले यही क्षेत्रमा केही गर्छ भन्ने उनलाई लाग्थ्यो ।

अहिले त्यसको २१ बर्षपछि उनलाई त्यही छोराको उचाईमा रहेको स्टारडम देखेर गर्व त लाग्छ नै सँगसँगै चिन्ता पनि ।

चलचित्र क्षेत्रमा प्रवेश गरेको छोटो समय र आधा दर्जनभन्दा कम चलचित्रमा अभिनय गरेर नै सुपरस्टारको छवि बनाउन सफल बनेको आफ्नो छोराको यो स्टारडमसँग बाबुको नाताले भुवन केसीलाई कहिलेकाँही डर समेत लाग्ने गर्छ । किनकी, उनले बुझेका छन्, यो क्रेज स्थापना गर्न जति सजिलो हुन्छ यसलाई टिकाइराख्न झन कठिन् । तरपनि, आफ्नो छोरा अनमोल केसीले अहिलेसम्म चलचित्र क्षेत्रमा जुन किसिमले अघि बढेको छ यो क्रेजलाई अझ उचाईमा पुरयाउँछ भन्नेमा उनी ढुक्क छन् ।

भुवनलाई लाग्छ, अनमोलका चलचित्रहरूले विदेशी चलचित्रहरूलाई टक्कर दिइरहेको छ अहिले नेपालमा । ‘उसले (अनमोल) ले नेपाली चलचत्रिलाई नयाँ मोड दिने कोशिष गरिरहेको छ ।’ आफ्नो चलचित्र ड्रिम्सको प्रदर्शनीका लागि अष्ट्रेलियाका आएको समयमा सिड्नीको एक क्याफेमा कफी पिइरहेका उनले सुनाए ।

उमेरले भर्खर २१ पुगेको भएपनि कुराकानीमा अनमोल परिपक्व देखिन्थे । आफ्ना फ्यानहरू मात्र नभएर जोसँग कुरा गर्दा समेत आदरार्थी भएर कुरा गर्ने उनले नेपाली चलचित्र क्षेत्रमा अहिलेसम्म आफूले कयौं चलचित्रहरूको अफर त्यागिसकेको दाबी गरे । ‘यदी म पैसाको लागि काम गर्थे भने सायद अहिलेसम्म मैले धेरै चलचित्र गरिसकेको हुन्थे र धेरै पैसा कमाइसकेको हुन्थे ।’ बाबुकै आडमा बसेर कफीको चुस्की लिइरहेका उनले थपे – पैसा कमाउनभन्दा पनि दर्शकको माया, प्रेम र इमेजका लागि म यो क्षेत्रमा लागिपरेको हुँ ।

इमेजको कुरा गर्दा उनले अहिले आफू जुन स्थानमा छु र आफ्नो स्टारडम जुन स्थानमा छ त्यसलाई टिकाइरहन अझ मेहनत गर्नुपर्ने कुरा बताउन भुलेनन् । ‘हो चलचित्र क्षेत्रमा लागेको छोंटै समयमा मलाई दर्शकहरूले जति माया र प्रेम दिनुभएको छ, त्यसलाई अझ बढाउन र जीवित राख्न नै मैले मेहनत गर्नुपर्छ ।’ उनी कलाकारिताको माध्यमबाट आफूले आफ्ना दर्शकहरूलाई ‘फेक होप’ नदिएको दाबी गर्छन् । आफु यो क्षेत्रमा आउँदा अहिले नै पाएको जतिको माया र सम्मान पाइन्छ होला भन्ने उनलाई आशा थिएन् । भन्छन्, हो, यो मैले कल्पना गरेको थिईन् । यो कल्पना बाहिरको कुरा थियो ।

सिड्नीमा पाइला राखेदेखि नै आफ्ना फ्यानहरूको पछ्याईमा पर्दै आएका अनमोलले विवाह गर्ने दर्जनौ प्रस्ताव अष्ट्रेलियामा पनि पाइसकेका छन् । उनी आफ्ना फ्यानहरूलाई ‘तपाई मलाई माया गर्नुहुन्छ, म तपाईलाई माया गर्छु, विवाह भन्दा ठुलो भएन र’ ? भनेर टारिदिन्छन् । फ्यानबाट दैनिक आउने प्रेम र विवाह प्रस्ताव वाहेक वास्तवमा उनको आफ्नै कोही प्रेमिका छ कि छैन् त ? ‘मेरा केटीसाथीहरू धेरै छन् र म सबैलाई माया गर्छु, उनले रेडिमेड जवाफ दिदै भने– तर अहिलेसम्म त्यस्तो दोहोरो मन मिल्ने साथी भनेको भेटेको छैन् ।’ उनी प्रेमलाई त्यस्तो अनौठो समेत मान्दैनन् । अबको केही बर्षमा त्यो प्रेम पनि हुनसक्ने विश्वासमा छन् । उनलाई लाग्छ उनी अहिले त्यसका लागि अलि कलिलै छन् ।

सिड्नीमा भुवन र अनमोलको चलचित्रलाई दर्शकहरूले सीट नपाएर भुईमा बसेर समेत हेर्नुपरेको थियो भने केही दर्शकहरूलाई त स्थान अभाव भएका कारण फर्काउनु समेत परेको थियो । अनमोलले आफै उठेर आएका प्राय: सबै दर्शकहरूसँग बसेर सेल्फी र सामुहिक फोटो खिचिदिएकाले समेत दर्शकको त्यो भीड बढेको आयोजकहरू दाबी गर्दै थिए ।

अनमोलले कुराकानीका क्रममा आफु यो स्थानमा आउन आफ्नो परिवारको महत्वपूर्ण स्थान रहेको धेरैपटक दोह्याए । परिवारमा आफूले थाहा पाएदेखि नै चलचित्र सम्बन्धि वातावरण रहेकाले समेत यसले आफुलाई धेरै मद्दत गरेको उनको ठम्याई छ । झन त्यसमा त्यतिबेलाका सुपरस्टार आफ्ना बाबुको संगतले समेत उनलाई यही क्षेत्रमा आउन प्रेरित गरेको हो । अर्काेतिर उनी आफुले पैसाको लागि कुनैपनि काम गर्नुपर्ने आवश्यक्ता नरहेको समेत भन्न भुल्दैनन् । ‘हो म सानैदेखि ‘वेलअफ’ परिवारबाट आएकाले समेत पैसाको लागि मैले केही गर्नुपर्छ जस्तो लाग्दैन, स्पेसल्ली चलचित्र त झन पर्दैन् ।’ उनले आफूले कुनैपनि निर्माता निर्देशकसँग काम गर्दा पैसाको डिमाण्ड कहिल्यै नराखेको दाबी गरे । आफू मनबाट चलचित्रको कथा सुनेर निर्णय लिने भएकाले समेत पैसाको जति अफर आएपनि त्यता कहिल्यै ध्यान नदिने बताए ।

अहिले नेपाली चलचत्रिमा तीन पुस्ता आइसकेको छ । अनमोल अहिलेको नयाँ पुस्तामा समेत आफ्नो प्रतिस्प्रधी कसैलाई देख्दैनन् । सबै आफ्नो आफ्नो कला, सीप र योग्यताले यहाँसम्म आएकाले कोही कसैको प्रतिस्प्रर्धी हुनै नसक्ने दाबी उनको छ । अर्काेतिर उनी आफ्नो व्यक्तिगत व्यवहार समेत सही हुनुपर्ने बताउँछन् । आँफू सँधै सकारात्मक प्रवृत्तिको भएकाले अहिले चलचित्र क्षेत्रमा रहेका सबै आदरणीय रहेको उनी ठम्याउँछन् । कुराकानीमा सँगै रहेका भुवनले समेत उनको भनाईमा सही थप्दै आफूले समेत कसैलाई प्रतिस्प्रधी नसोचेको दाबी गरे ।

चलचित्र क्षेत्रमा लागिपरेका यी बाबुछोराको भविष्यको योजना चाहिं के त ? भुवनले त केही महिनापछि अर्काे चलचित्र शुरु गर्ने सोच बनाइसकेका छन् । ‘अहिले नै गर्दा धेरै चाँडो हुने भएकाले करिब ६ महिनाअघि त केही गरिन्न होला, तर त्यसपछि भने म आफ्नो अर्काे प्रोजेक्टको काममा लाग्नेछु ।’ आफ्नो भविष्यको योजना सुनाइरहँदा उनले आफ्नो आउने चलचित्रमा पनि आफ्नै छोरा नायक हुने ठोकुवा गरे । अर्काे चलचित्रमा समेत अनमोलसँगै काम गर्नेछु । उनले आगामी चलचित्रका लागि स्क्रिट लेख्न दिइसकेको जानकारी दिदै उक्त चलचित्रको निर्देशन भने आफुले नगर्ने निर्णय गरेको बताए ।

अनमोलको भने केही योजना छैन् । ‘म वास्तवमा लामो योजना बनाएर काम गर्दिन् ।’ तरपनि, उनी अन्य कलाकारहरू जस्तो वर्षेनी धेरै भन्दा धेरै चलचित्रमा अभिनय गर्ने सोचमा भने छैनन् । ‘मलाई जति पैसा दिएपनि म आफू सुहाउँदो कथा भएन भने चलचित्र गर्दिन् ।’ अनि अर्काेतिर उनको शब्दमा मनि माइण्डेड (पैसा कमाउनका लागि मात्र) बनाएका चलचित्र समेत गर्दैनन् भलै कथा राम्रो भएपनि । म कलाकारिता क्षेत्रमा नै अघि बढेको कारणले समेत मलाई दर्शकले दिएको माया, सम्मान र प्रेमलाई जीवित राख्न लागिपर्नेछु ।

अष्ट्रेलियाबाट केही दिनपछि नै लण्डन उडेका बाबुछोराको एउटै सोच भनेको अब विदेशी बजारमा समेत नेपाली चलचित्रले राम्रो स्थान बनाइरहेकाले सकेसम्म विदेशमा रहेका नेपालीलाई समेत छुने किसिमको चलचित्र बनाउने र त्यसैमा लागिपर्ने रहेको छ ।