आजदेखि नयाँ वर्ष २०८० प्रारम्भ

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– आज नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात वैशाख १ गते शुक्रवार । आजदेखि हामी सम्पूर्ण नेपाली नयाँ वर्षसंगै नयाँ दशकमा समेत प्रवेश गर्दैछौं । आजदेखि विक्रम संवत २०८० प्रारम्भ भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन अर्थात आज वैशाख १ गतेलाई नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीले हर्षोल्लासका साथ एक–आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालसहित नेपालीहरु बसोबास गरेका विदेशका हरेकका हरेक ठाउँमा विभिन्न कार्यक्रमहरु आयोजना गरिँदैछन् ।

यसका साथै अधिकांश व्यक्तिहरुले अघिल्लो वर्ष गरेका कामको सफलता अथवा असफलतालाई मूल्यांकन गर्दै असफलता दोहोरिन नदिने तथा सफलता प्राप्त गर्न नयाँ वर्षका दिन योजना निर्माण एवं संकल्प गर्ने परम्परा पनि छ । आजको दिनमा नयाँ कामको थालनी गर्ने परम्परा पनि छ । नयाँ वर्षका दिन बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, साथी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदान–प्रदान चलन पनि छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । छिमेकी बंगलादेशमा पनि वैशाख १ लाई नै नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ ।

सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरे पूण्य प्राप्त हुने धार्मिक विश्वास छ । कलियूग प्रारम्भ भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् प्रारम्भ भएको मानिन्छ । नयाँ वर्ष २०८० को अवसरमा द नेपाली टाइम्स परिवार सम्पूर्ण पाठक तथा शुेभक्क्षुकहरुमा मंगलमय शुभाकामना व्यक्त गर्दछ ।