ओमानविरुद्ध नेपालको उत्कृष्ट जीत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले ओमानमाथि उत्कृष्ट जीत हासिल गरेको छ । शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हरायो । आजको खेलमा जीतका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २६ रनमा समेटिएको थियो । ओमानका लागि मोहमद नदिमले सर्वाधिक ६५ रन बनाए भने सन्दीप गोउडले ४६, आयान खानले २९, कस्यप प्रजापतिले २५, फायज बट्ले १९, जतिन्दर सिंहले १५ र अदील साफिक्वीले १३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । यही खेलमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी एक सय विकट पूरा गरेका छन् । ओमानविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले एक दिवसीयमा सर्वाधिक छिटो समयमा सय विकेट पूरा गर्ने खेलाडीको विश्व कीर्तिमान बनाएका छन् । सन्दीपले ४२ एक दिवसीय खेल्दै एक सय दुई विकेटको आँकडा पूरा गरेका छन् । यसअघि एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक कम खेल खेल्दै सय विकेट लिने खेलाडीको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । खानले ४४ एक दिवसीय खेल्दै एक सय विकेट पूरा गरेका थिए । खानले सन् २०१८ मा बनाएको कीर्तिमान सन्दीपले आज तोडेका हुन् । आजको खेलमा करण केसीले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललित राजवंशीले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय १० रन बनाएको थियो । नेपालको यो एक दिवसीय इतिहासकै उच्च योगफल पनि हो । नेपालका लागि कुशल मल्लले शतकीय इनिङ्स खेले । दुई ओपनर कुशल भुर्तेल र आशिफ शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि मल्लले एक सय आठ रनको शादार शतकीय इनिङ खेले । मल्लले ६४ बलमा नौ चौका र १० छक्काको सहयोगमा उक्त रन जोडेका हुन् । यससँगै कुशलले नेपालबाट एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । उनको यो अन्तर्राष्ट्रिय खेलमा पहिलो शतक हो । उनी समग्रमा एक दिवसीयमा नेपालबाट शतक हान्ने छैटौँ खेलाडी बने । यसअघि पूर्व कप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले नेपालका लागि शतक हानेका छन् ।

सोमपाल कामीले अविजित ६३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४८ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाएका हुन् ।
यसबाहेक भिम सार्कीले ३३, आरिफ शेखले २९, करण केसीले अविजित २९, कप्तान रोहित पौडेलले २३ रन बनाए । सन्दीप लामिछानेले आठ र दीपेन्द्रसिंह ऐरी सात रनमा आउट भए । बलिङमा ओमानका आयन खानले दुई विकेट लिए भने विलाल खान, कालीमुल्लाह, जीसान मक्सुद, फायज बट्, अक्वीब लायस र जतिन्दर सिंहले समान एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालको यो लगातार दोस्रो जीत हो । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । ओमानको यो पहिलो हार हो । नेपाल र ओमानको यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । ओमान र नेपालबीचको आजको खेल नेपालका लागि ५०औँ एक दिवसीय खेल पनि हो । एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ । नेपालले तेस्रो खेल सोमबार साउदी अरबसँग खेल्नेछ ।