प्रधानमन्त्री दाहालको भारत भ्रमण मे ३१ देखि

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही मे ३१ (जेठ १७ गते) देखि भारतको भ्रमण गर्ने निश्चित भएसंगै जुन १ (जेठ १८ गते) बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मे ३१ देखि जुन (जेठ १७ देखि २० गते) सम्म औपचारिक भ्रमणमा जान लागेका हुन् । उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् ।

भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना हुनेछ । प्रधानमन्त्रीको साथमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री दाहाल शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयले मे २९ संघीय संसद्मा बजेट पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत जानेगरी तयारी थालेको थियो । मन्त्रालयले नेपालका तर्फबाट भ्रमणमा उठाउनु पर्ने विषयमा गहन छलफल गरिरहेको छ ।

प्रचण्डको भारत भ्रमणका क्रममा यसपटक भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग हवाई रुटको प्रस्तावमा जोड दिने तयारी भएको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भ्रमणका क्रममा उठाइने एजेन्डाको गृहकार्य भइरहेको र त्यसमध्ये हवाई रुट प्राथमिकतामा पर्नेछ । नेपालले पटक–पटक यस विषय उठाए पनि भारतले ठोस निर्णय दिन सकेको छैन । १३६ किलोमिटर काठमाडौं–रक्सौल रेलमार्ग, ऊर्जा सम्झौता (विद्युत् व्यापार र हाइड्रो कम्पनी), सीमा समस्या ई–वालेटलगायत विषय प्रधानमन्त्रीको भ्रमणको एजेन्डामा परेका छनन् ।