भारत भ्रमण सफल र परिणाममुखी भएको प्रधानमन्त्रीको दावी

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताउनु भएको छ । भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन भारत भ्रमणले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।

उहाँले विगतमा थाँती रहेका विषयलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानी भएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो- ‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बनाउन यस भ्रमणले योगदान गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भएर विश्वासको वातावरण सिर्जना भएको छ । थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण भविष्यका लागि मार्गदर्शनको रुपमा रहने दाबीसमेत गर्नुभएको छ । उहाँले भन्नुभयो- ‘सारभूत रुपमा यो भ्रमण परिणाममुखी रहेको छ । भ्रमणले भविष्यका लागि स्पष्ट मार्गदर्शनसमेत गरेको छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (इपीजी) को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताउनु भएको छ । पत्रकारको एक जिज्ञासामा उहाँले सो विषय हामी सबैको चासोको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोबारे आफूले भारतीय पक्षसँग कुरा राखेको बताउनु भयो । उहाँले त्यो विषयलाई धेरै उचालेर आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको परिणाममुखी वातावरण नेपालले बिगार्न नहुने पनि पटक पटक दोहोराउनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो- ‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्ने गरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाइदा छैन । अहिले तपाईहरुले भन्नु भयो नि इपीजीको कुरा । यो हामी सबैको चासोको विषय हो । मैले आफ्नो ढंगले आफ्नो ढंगले कुरा गरेको छु । तर अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन । हामीले जुन तरिकाले कुरा गरियो । त्यो तरिकाले कुरा गरिएको छ ।’ उहाँले यति भनेपछि पत्रकार साथीहरु तपाईहरुले कुरा चाहिँ बुझ्नु होला । त्यसकारण यो भ्रमण फलदायी भएको छ । यसलाई अव हामीले सबैले मिलेर जे सहमती, समझदारी भएको छ । त्यसलाई कार्यान्वयनमा लैजानु छ । कार्यान्वयनमा लैजानका लागि हामीले राम्रो वातावरण बनाउन आवश्यक छ । त्यस कारण भ्रमण विगतको भन्दा परिणाममुखी भएको छ । कामकाजी भएको छ, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले आफूले इन्डोर भ्रमणको क्रममा महाकालेश्वर मन्दिरमा प्रोटोकल नमिचियोस् भनेर गेरु बस्त्रधारण गर्नुपरेको बताउनु भयो ।
सो मन्दिरमा मुख्य अतिथिले गेरु बष्त्रधारण गर्नुपर्ने प्रोटोकल भएको र त्यसलाई पालना नगर्दा अर्बौ भारतीय मनमा चिसो पस्ने भएकाले सो बस्त्र धारण गरिएको प्रधानमन्त्री दाहालको स्पष्ट पार्नुभयो । उहाँले यसलाई नेपालको सर्वोपरी हितका लागि गरिएको सांस्कृतिक कूटनीति भनेर बुझ्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो- ‘म वास्तवमा मनैले धर्म निरपेक्षतावादी हो । धर्म निरपेक्षता भनेको धर्म विरोधी होइन नि । सबै धर्मलाई समान व्यवहार गर्ने र राज्यले कुनै पक्षलाई काखापाखा नगर्नु भनेको हो । आफू धर्म निरपेक्षतावादी भएको नाताले मैले हिन्दु, मुस्लिम, बुद्धिष्ट, क्रिश्चियन सबै धर्मलम्बीहरुप्रति समान व्यवहार गर्नुपर्छ । अव मध्यप्रदेशमा जाने, इन्डोरमा जाने । नजिकै ऐतिहासिक सहर हो उज्जेन भनेको । महाकालेश्वर । त्यहाँ फेरी भव्य संरचना रहेछ । मैले त गएपछि पो थाहा पाएँ । त्यसले एकै दिनमा डेढ लाख मान्छेहरु जान्छन् त्यहाँ हेर्न, पूजा गर्न । हामीले पनि यहाँ रामायण सर्किट भन्दैछौं । बुद्धिष्ट सर्किट भन्दैछौं । हामीले पनि धार्मिक पर्यटनको विकास गछौं भनेका छौ कि छैनौँ रु म अहिले कम्युनिष्ट मात्रै होइन, प्रधानमन्त्री पनि हो नि । प्रधानमन्त्रीले त सबैलाई समेटनु पर्छ । हुन त मसँग भएको सेक्युरिटीले यो गेरुबस्त्र नलगाउनु पाए हुन्थ्यो भनेर निकै कोशिश गर्नुभयो । तर त्यहाँ महाकालेश्वरको के रहेछ भने मुख्य अतिथिले त्यो लगाउनै पर्ने प्रोटोकल रहेछ त्यो । त्यो प्रोटोकल मिचेर नलगाऊ भने भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो नेपालप्रति र नेपालको प्रधानमन्त्रीप्रति । त्यो देशलाई फाइदा हुन्थ्यो त । म लगाउन्न भनेको भए के हुन्थ्यो । एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो । के हो यो नेपाल सरकार भन्थे रु सहज ढंगले गर्दा सबै खुशी भएँ । यसलाई सांस्कृतिक कूटनीतिको रुपमा लिनुपर्ने हो । नेपालको बृहत्तर हितमा गरिएको कदम हो भनेर बुझनु पर्दछ ।’