संसदबाट बहुमतले पारित भयो बजेट

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट विनियोजन गर्नु भएको थियो । बैठकमा सभामुख देवराज घिमिरेले बजेटसम्बन्धी प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्नुहुँदा बहुमतले पारित भएको हो ।

बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाइएको थियो । कुल उपस्थित सांसद २५५ मध्ये प्रस्तावको पक्षमा १४७, विपक्षमा १०८ मत परेको छ। मत दिन्न भन्ने सांसदको सङ्ख्या शून्य रहेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरेका हुन् । पारित भएसँगै आगामी साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ ।