यूएईविरुद्ध नेपालको शानदार जीत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईविरुद्ध शानदार जीत हासिल गरेको छ । यो जीतसंगै नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार खेलिएको खेलमा पहिला ब्याटिङ गर्दै यूएईले दिएको एक सय ८२ रनको लक्ष्य नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्न सफल भएको हो ।

नेपालको आकर्षक जीतमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७९ रन बनाए । ऐरीले ८५ बलमा ७ चौका तथा दुई छक्काको सहयोगले यो रन बनाएका हुन् । नेपालका लागि कुशल भुर्तेलले ३५ रनको योगदान दिए भने सन्दीप लामिछानेले ऐरीलाई अन्त्यसम्म साथ दिँदै अविजित २३ रन बनाए । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्रले बलिङतर्फ ५ ओभरमा १४ रन दिँदै एक विकेट लिन सफल भएका थिए ।

६३ रन जोडदा ६ विकेट गुमाएर दयनीय स्थितिमा पुगेको नेपालका लागि दीपेन्द्रले शानदार प्रदर्शन गरेका हुन् । उनले सातौँ विकेटका लागि गुल्सन झासँग ४३ रन तथा आठौँ विकेटका लागि सन्दीप लामिछानेसँग अविजित ७९ रनको साझेदारी गरेका थिए । गुल्सनले १२ रन बनाए ।

त्यसअघि ज्ञानेन्द्र मल्ल १३ तथा कप्तान रोहित पौडेलले ४ रन मात्र जोड्न सकेका थिए भने विकेटकिपर अर्जुन साउद, भीम सार्की र आरिफ शेख समान एक रनमा आउट भएका थिए ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन जोडेको थियो । त्यस क्रममा नेपालका सन्दीप लामिछाने तथा करण केसीले समान तीन विकेट लिए भने प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । सन्दीपले आफ्नो १० ओभरको स्पेलमा २३ रनमात्र खर्चिए भने तीन ओभर मेडन राखेका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिएका थिए ।

यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईलाई लगातार पाचौँपटक हराएको हो ।