‘पार्टी बैठकमा मैले सोचेको भन्दा कम आलोचना भयो’: देउवा

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा आफ्नो धेरै आलोचना होला भन्‍ने ठानेको भए पनि कम भएको भन्दै धन्यवाद व्यक्त गरेका छन् । पार्टी सभापति देउवाले बुधबर सात दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय पारित गर्दै धेरै महत्वपूर्ण विषयमा छलफल भएको बताए । ‘मैल त धेरै आलोचना होला भन्ठान्या, कम भयो त्यसका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

सभापति देउवाले पार्टीको बैठक लाइभले जीवन्त बनेको पनि बताएका छन् । उनले भने- ‘पार्टीको बैठकले जनताले पनि सबै कुरा थाहा पाएको र पार्टीका कोहीभन्दा कम नभएको र एकसय एक केन्द्रीय सदस्यहरु रहेको पनि प्रमाण पनि दुनियाँले बुझेको छ ।’

नेपाली कांग्रेसले यही मंसिर ११ देखि १३ सम्म महासमिति बैठक बोलाउने निर्णय गरेको छ । कांग्रेसले नीति अधिवेशनका लागि आवश्यक काम गर्नका लागि महासमिति बैठक बोलाउने निर्णय गरेको महामन्त्री विश्‍वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसको साउन २ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीध्र पारित गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । संसद्‌मा दर्ता भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको हो ।

यसैबीच, नेपाली कांग्रेसले गत निर्वाचनमा बागी उम्मेदवारी दिएर निर्वाचित भएका १४ जनाको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको हो । कांग्रेसले बागी उम्मेदवारी दिएर प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका जंगीलाल राय, देवेन्द्रबहादुर शाही र नवराज शाहीको कारबाही फुकुवा गरेको छ । त्यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएका राजुसिंह कठायत र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार शाहसहितको कारबाही फुकुवा भएको छ । प्रल्हादकुमार क्षत्री, तारादेवी महतो, भोला खड्का, राम यादव, विजयकुमार महतो, विदेश्वर शाह, रूकुम तामाङ र लक्ष्मण सिंहको कारबाही फुकुवा भएको हो ।