आज ‘नाग पञ्चमी’

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज भदौ ४ गते सोमबार धुमधामका साथ मनाइँदैछ । आजको दिन हरेक हिन्दू धर्मावलम्बीले आफ्नो घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजाआजा गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । नाग पञ्चमीको दिन घरको मूल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेध, धूपदीप गरी विधिपूर्वक पूजा गरिन्छ ।
आजको दिन घर–घरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र अग्निको भय नहुने धार्मिक विश्वास छ ।

नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंखनाग पूजा आज नाग पञ्चमीका दिन गरिन्छ । आजको दिन बिहानै स्नान गरी गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित, कागजमा बनाइएको नागलाई दियो, कलश, गणेश पँजा गरी दही, दुबो, कुश, फँल, सिन्दूर, चन्दनले पूजा गर्ने प्रचलन छ । नाग पूजा गरी, धूपदीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरका ढोकामा नागको तस्बिर टाँस्नाले कालसर्प आदि गरिएको योग नष्ट हुने विश्वास छ ।

भनिन्छ, नाग पूजा गर्नु भनेको सर्प अथवा नागको संरक्षण गर्नु पनि । सर्प अथवा नागहरूको संरक्षण गर्नु भनेको जलको पनि संरक्षण गर्नु हो । कतिपय नदी, कुवा तलाउ, पँधेरोमा दिशा–पिसाब गर्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । त्यो स्थानमा नाग बस्छन् र फोहोर गर्न हुँदैन भन्ने भनाइ नै पर्यावरण संरक्षणको एउटा जनचेतना भएको विश्वास गरिन्छ ।

आज नाग पञ्चर्मीको दिन काठमाडौंको भिमसेनगोलास्थित प्रयागमार्गमा रहेको कालीनागेश्वर शिव मन्दिरमा बिहानैदेखि पूजाआचासहितको कार्यक्रम गरिँदैछ । नक्सालको नागपोखरीमा विशेष मेला लागेको छ । काठमाडौंकै टौदह, कालीनागको बासस्थान ललितपुर धापाखेल नागदह, भक्तपुर सिद्धपोखरी, पनौतीलगायत विभिन्न दहमा मेला लागेको छ । ललितपुर धापाखेलस्थित नागदहमा स्नान गर्ने, जल चढाउने तथा नाग दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको छ ।