भारतविरुद्ध खेल नजिते पनि दर्शकको मन जित्न सफल भयो नेपाली टीम

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– विश्वको उत्कृष्ट क्रिकेट टीम भारतविरुद्ध पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सोमबार मैदानमा उत्रिएको नेपाली टीमले खेलमा जीत हासिल नगरे पनि तीन करोड नेपालीको मन भने जित्न सफल भएको छ । एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग उसैको मैदानमा दुई सय ३८ रनले पराजित भएको थियो । जितसँगै भारत सुपर चारमा प्रवेश गरेको छ । पाकिस्तानले यसअघिनै सुपर चारमा स्थान बनाईसकेको छ । भारत र पाकिस्तानबीच शनिबारको खेल वर्षाका कारण रद्द भएको थियो । नेपालले बलिया टोली पाकिस्तान र भारतसँग पहिलो पटक खेलेको हो ।

श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारको खेल वर्षाका कारण २३ ओभरमा झारिएको थियो । डकवर्थ लेविस प्रणालीका आभारमा जितका लागि एक सय ४५ रनको लक्ष्य पछ्याएको भारतले २०।१ ओभरमा बिनाविकेटको क्षति एक सय ४७ रन बनायो । भारतको जितमा ओपनरद्वय कप्तान रोहित शर्मा र शुबमन गिलले सानदार अर्धशतकीय इनिङ्स खेले ।

रोहितले अविजित ७४ रन बनाए । उनले ५९ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । शुबमनले ६७ रन बनाए । उनले ६२ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन जोडे । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दाबढी समय रोकिएपछि खेल २३ ओभरमा झारिएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४८.२ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ३० रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय इनिङ्स खेले ।
उहाँले ९७ बलमा आठ चौकासहित सर्वाधिक ५८ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३८ रन बनाए ।

सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रनको महत्त्वपूर्ण योगदान दिए । ओपनर आसिफ र कुशलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । यस्तै दीपेन्द्रसिंह ऐरीले २९ र गुलशन झाले २३ रन बनाए । सन्दीप लामिछानेले नौ, भीम सार्कीले सात, कप्तान रोहित पौडेलले पाँच, कुशल मल्ल र करण केसीले समान दुई दुई रन जोडे । ललित राजवंशी शून्य रनमा आउट भए । बलिङमा भारतका मोहम्मद सिराज र रवीन्द्र जडेजाले तीन तीन विकेट लिए । मोहम्मद शामी, शार्दूल ठाकुर र हार्दिक पाण्डेयले एक एक विकेट लिए ।

एसिया कपको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भएपनि अधिकांश खेलहरू श्रीलङ्कामा सञ्चालन भइरहेका छन् । नेपाल पाकिस्तानसँग उसैको मैदानमा खेलेर भारतसँग खेल्न श्रीलङ्का गएको थियो । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।