जेलमा रहेकी इरानी मानवअधिकारकर्मी नरगिसलाई नोबेल शान्ति पुरस्कार

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले नरगिसलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

नरगिसलाई अहिलेपनि इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन जेलमा राखिएको छ । नोबेल पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशिमा १० लाख स्विडिस क्रोनर बढाइएको हो । गत वर्ष बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

पहिलो पटक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने यही अक्टोबर ९ मा घोषणा हुनेछ ।

को हुन् नगरिश ?

नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी थिइन् । उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्र पुरस्कार दिएको थियो ।

५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणा हुनुअघि नै सीएनएनले शुक्रबार प्रकाशित एक रिपोर्टमा उल्लेख गरेको छ । पटक–पटक विभिन्न मुद्दामा जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

नरगिसलाई १० वर्ष ९ महिना जेल सजाय सुनाइएको छ । उनीविरुद्ध १५४ कोर्राको पनि सजाय सुनाइएको थियो तर मानवअधिकार समूहका अनुसार भने उक्त सजाय अहिलेसम्म दिइएको छैन ।
उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । नरगिस मोहम्मदीको साहसिक संघर्षले व्यक्तिगत रूपमा ठूलो क्षति भोग्नु परेको एकेडेमीले जनाएको छ । उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ ।