बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा गरिँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– बडा दशैंको तेस्रो दिन आज नवदुर्गा मध्येको तेस्रो स्वरुप चन्द्रघण्टा भगवतीको पूजा हुँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको दैनिक पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको स्मरण गरी भगवतीको पाठसँगै सिङ्गो प्रकृतिको रुपमा पूजाआरधना गर्ने गरिन्छ । दशैं घर वा पूजाकोठा तथा विभिन्न स्थानमा रहेका भगवतीको दर्शन गरी शक्तिको लागिदुर्गालाई पुज्ने गरिन्छ । चन्द्रघण्टा स्वरुपको पूजा आरधनाले शत्रुमाथि विजय पाउने विस्वास गरिन्छ । पञ्चांग निर्णयक समितिका पूर्व अध्यक्ष डा.माधव भट्ट्राईदुर्गाको चन्द्रघण्टा स्वरुपलाई सिङ्गो प्रकृतिको रुप मानेर पुज्ने र त्यसले शत्रुनास हुने बताउँछन् ।

उनले भने, ‘तेस्रो दिन पूजा गरिने दुर्गा स्वरुपा चन्द्र घण्टाको घण्ट नै चन्द्रमा हो । उहाँ प्रकृतिकै प्रतिक हुनुहुन्छ । सिङ्गो प्रकृतिको स्वरुपको रुपमा हामी उहाँलाई मान्दछौं । चन्द्रघण्टाको सेवा वा आरधना गर्दा शत्रु नाश हुने र आफूमाथि कुनै अनिष्ट आइलागे त्यो नाश हुने विश्वास गरिन्छ ।’ देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरु भगवतीको दर्शन हेतु पुगेका छन् । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी तथा उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, पाथिभरा, मनकामनासहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू पुगेका छन् ।